एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको स्थिति सामान्य बनाउन तीन चरणको योजना अघि सारेका छन्। उनले ‘ओपनिङ अप अमेरिका अगेन’ योजनाअन्तर्गत विद्यालय तथा कार्यालय खोल्न तीन चरणको योजना अघि सारेका हुन्। उनले आफ्ना प्रस्ताव लागू गर्नेबारे विचार गर्न पनि सबै राज्यलाई आग्रह गरेका छन्। प्रस्तावअनुसार सबै चरण कम्तिमा पनि १४ दिनसम्म लागू हुनेछ।
ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा उनले आफ्ना प्रस्ताव सार्वजनिक गरेका हुन्। लामोसमयसम्म अर्थ व्यवस्था बन्द राख्नु कोरोना संकटसँग सामना गर्ने उचित उपाय नभएको उनको भनाइ छ।
कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव अमेरिकामा छ। त्यहाँ ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने साढे ६ लाखभन्दा बढी संक्रमित भएका छन्।
के छ ट्रम्पको प्रस्तावमा ?
प्रस्तावअनुसार पहिलो चरणमा सामाजिक दूरीको नियम लागू गरिनेछ, जसअनुसार विद्यालय तथा कार्यालय बन्द गरिनेछ । यस चरणमा राज्यमा संक्रमणमा कमी आए दोस्रो चरण लागू गर्न सकिनेछ। यसअनुसार सीमित संख्याका कर्मचारीको उपस्थितिमा कार्यालय खोल्ने स्वीकृति दिन सकिनेछ। ५० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुने प्रतिबन्ध भने कायमै रहनेछ ।
तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा खोल्न स्वीकृति दिइनेछ । यस क्रममा अस्पताल र ज्येष्ठ नागरिकका लागि केयर होममा आवतजावतमा रोक लगाइनेछैन। यस क्रममा संक्रमणको खतरा हुनेहरुलाई सावधानी अपनाउन सल्लाह दिइनेछ। ट्रम्पको योजनाअनुसार मे १ बाट ठूलो संख्यामा मानिस भेला हुन सक्नेछन्।
यसअघि सबै राज्यका गभर्नरसँग भएको छलफलमा नागरिकमाथि लगाइएको रोक हटाउने निर्णय गभर्नरहरुलाई नै छाड्न ट्रम्प सहमत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।