काठमाण्डौं- सरकारले तत्कालीन अवस्थालाई मध्यनजर गरेर लकडाउनको अवधि फेरी बढाएर वैशाख १५ पुर्याएको छ। हालसम्म १६ जनामा कोरोनाको संक्रमण देखिएको छ। कोरोना संक्रमित हो, होइन जाँच गर्नका लागि आवश्यक स्वास्थ्य सामग्री सबै प्रदेश पुर्याई तीव्र गतिमा जाँच भइरहेको छ।
त्यस्तै स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामाग्री तथा राहत वितरण कार्य गरिरहेका छन्। डेनमार्कको गैरसरकारी संस्था डिसिए नेपालले स्थानीय संस्थाहरुको सहकार्यमा विभिन्न जिल्लामा लगभग ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ।
हालसम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्ला गरी १३२९ घर परिवारलाई स्थानीय सरकारले तोकेबमोजिमको खाद्य सामग्री वितरण गरिसकेको छ। त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा क्वारेन्टाइनका लागि १४० बेड बनाउन पुग्ने सामग्री, ५१ पिपिई सेट, ११ थर्मल गन, २४२ लिटर ‘स्यानिटाइजर’, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, ७६३ स्यानेटरी प्याड, ९ हजार ४२० साबुन तथा १०० सेट बाल्टिन र जग वितरण गरिसकेको छ।
यी सबै सामग्री आवश्यकताअनुसार विभिन्न समुदाय, क्वारेन्टाइन सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा पुर्याइसकेको पालिकाहरुले जनाएका छन्।
‘हामीले सरकारले तोकेको एकद्वार प्रणालीमार्फत नै सबै सामग्री पालिकाहरुलाई हस्तान्तरण गरेका हौं,’ डिसिए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण म्यानेजर, दिनेश गुरुङ्गले बताए। ‘पहिलो चरणमा पालीकाहरुको अनुरोध र मागअनुसार नै सहयोग गरेका छौं। थप सहयोग पनि सोही अनुसार गर्नेछौं।’
डिसिएले थप सहयोगका लागि पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ। ‘सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने काम गरिरहेको छ। तर यो महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन, त्यसैले हामीले अपिल गरेअनुसार नै वहाँहरुले सहयोग गरिरहनुभएको छ,’ दैलेख जिल्लाको आठबिस नगरपालिकाका मेयर खड्गराज उपाध्ययले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।