भैरहवा-लकडाउन उल्लंघन बढ्दै गएपछि रुपन्देहीमा सुरक्षाकर्मीसँगै स्थानीय तह पनि कडाइका साथ लागू गर्न लागिपरेका छन्।
रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव आफैँ लकडाउन पालना गराउन सडकमा निस्किएका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा अहिले गहुँ काट्ने काम भइरहेको हुँदा कृषिको बहाना देखाउँदै लकडाउन उल्लंघन बढ्दै गएको छ।
कृषिकै बहानामा अन्य सर्वसाधारण पनि घुमफिर गर्न निस्किने गरेका कारण यसले जोखिम बढाएको यादवको भनाइ छ। पहिलो दिन भएकाले अनावश्यक रुपमा बाहिर देखिएकालाई फेरि ननिस्कने सर्तमा छाडिएको र फेरि पनि देखिए कारबाही गर्ने उनले बताए। नमाने आफैँ लठ्ठी हानेर धपाउने यादवको चेतावनी छ। ‘मेरै गाउँपालिका हो। सबै मेरै जनता हुन् तर के गर्ने, लास उठाउनुभन्दा लठ्ठी उठाएको राम्रो हो,’ यादवले भने, ‘आज उठाएको लठ्ठीले धेरैलाई लास हुनबाट जोगाउँछ भने त्यो गर्न म पछि हट्दिनँ।’
सुरक्षाकर्मीले मात्र लकडाउनमा कडाइ गर्न गाह्रो भएको हुँदा स्थानीय तहले पनि यसको पहल गर्ने यादवले बताए। उनले धकधई चोकबाट यसको सुरुवात गरेका छन्। चोकमा मात्र नभई ग्रामीण क्षेत्रहरुमा पनि निगरानी बढाइने यादवको भनाइ छ। यसका साथै उनले बजारमा अझ कडाइ गरिने बताएका छन्।
रोहिणी गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै वैशाख १५ सम्मका लागि दिउँसो १२ देखि ३ बजे सम्ममात्र अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल खोल्न अनुरोध गरेको छ। यसका साथै सो समयमा खरीदबिक्री गर्नेहरुले सामाजिक दूरीको पालन गर्न पनि अनुरोध गरिएको छ।
गाउँपालिकाको सूचनाविपरीत पसल सञ्चालन गरे सुरक्षा निकायको सहयोगमा गाउँपालिकाले कारबाही गर्ने पनि जनाएको छ। यसअघि पनि रोहिणी गाउँपालिकाले भारत र नेपालका नागरिकको आवागमन रोक्न सीमामा स्थानीयहरुलाई आग्रह गरेको थियो।
सबै जिम्मा सुरक्षाकर्मीलाई मात्र दिएर नहुने उनको तर्क छ। सुरक्षाकर्मीलाई सघाउन र आफ्नो टोल छिमेकमा आउने भारतीयलाई रोक्ने जिम्मेवारी स्थानीय सीमा रक्षकको पनि भएको यादवको भनाइ छ। यसै कारण सीमा क्षेत्रमा स्थानीयहरुको सहयोगमा गाउँपालिकाले निगरानी बढाएको र अनुगमनलाई तीव्रता दिइएको रोहिणी गाउँपालिका उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।