काठमाडौं- नागरिक लगानी कोषले कर्जा सापटी लिनेहरुको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा समेत थप १० प्रतिशत छुट प्रदान गर्ने भएको हो।
२०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र बुझाएमा सो अवधिको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय भएको हो। कोषको संचालक समितिको मिति बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको बताइएको छ।
त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि भएको छ।
यस्तो विषम परिस्थितिमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।