काठमाडौं- अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिम इण्डियन आयल कर्पोरेसनबाट बिहीबार (१६ अप्रिल) पेट्रोलियम पदार्थको साविकको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएर मूल्य सूची पठाए पनि नेपाल आयल निगमले भने मूल्य नघटाउने जनाएको छ। अहिले पेट्रोलियम पदार्थको माग अत्यन्त न्यून रहेका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा नघटाउने निर्णय गरेको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
‘भारतीय आयल निगमबाट डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ चानचुन घटेर आएको छ। तर हामीले अहिले माग कम रहेका कारण नघटाउने भनेका छौं,’ प्रवक्ता उपाध्यायले भने। डिजेल, पेट्रोल तथा मेट्टितेलमा मूल्य घटेर आएको भएपनि एलपी ग्यासमा भने मूल्य नघटेको उनको भनाई छ।
‘पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार बिक्री मूल्य समायोजन गर्नुपर्ने भएता पनि वर्तमान अवस्थामा पदार्थको माग अत्याधिक न्यून रहेका कारण हाललाई मूल्य समायोजन यथावत नै राखिएको छ,' निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
स्वचालित मूल्य प्रणालीअनुसार घट्नुपर्ने पेट्रोलियम पदार्थको मूल्य निगमले नघटाएपछि गत चैत १९ गते (अप्रिल १) समायोजन गरिएको मूल्य अनुसार नै बिक्री वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।