काठमाडौं- पछिल्लो समय मुल्यवृद्धि र कालोबजारीका घटना बढ्न थालेका छन्। खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी र मुल्यवृद्धि बढी देखिन थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ।
विभाग गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंका दुईवटा पसलले बढी मूल्यमा सामान बेचेको भेटिएपछि दूई-दूई लाख रुपैयाँ जरिवाना गराएको थियो। बिहीबार फेरी अर्को पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
विभागका अनुसार बिहीबार महांकाल चाबहिलमा रहेको डिजी डेली ग्रोसरी स्टोरले बढी मूल्यमा दैनिक उपभोग्य वस्तु बेचेको भेटिएपछि जरिवाना तिराइएको हो। त्यस्तै, विभागले गत मंगलबार गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि नयाँ बानेश्वरमा रहेको लुम्बिनी इन्टरनेशनल ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो।
लकडाउन अवधिमा व्यापारीहरुले उपभोक्ता मूल्यसूचीभन्दा बढी रकममा सामान बेच्ने गरेको गुनासो पनि बढ्न थालेका छन्। उपभोक्ताको गुनासो सुन्न भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यान्वयनमा ल्याएको उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सिआरएमआइएस) मा पछिल्लो समय कालोबजारी र मुल्य वृद्धिसम्बन्धी गुनासोहरु बढी आउन थालेका छन्।
सिआरएमआइएसमा दर्ता भएका गुनासोहरुमध्ये सबैभन्दा बढी खाद्यान्न अभाव, दोस्रो नम्बरमा खाद्यान्न अभाव र तेस्रो नम्बरमा कालोबजारी र मुल्यवृद्धिसँग सम्बन्धित गुनासोहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।