काठमाडौं– लकडाउन भएसँगै भारतबाट रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेका १८१ जनाको र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडिटी) नेगेटिभ देखिएको छ।
भारतबाट नेपाल प्रवेश गरेपछि नेपाली सेनाको सहयोगमा दशगजा नजिक क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो। क्वारेन्टाइनमा राखेको १५ दिनपछि भएको कोरोना भाइरस परीक्षणमा उनीहरुको नतिजा नेगेटिभ आएको हो।
भारतबाट प्रवेश गरेका १८१ जनाकै आरडिटी नेगटिभ आएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशमशेर राणाले जानकारी दिए। सुक्खा बन्दरगाहको क्वारेन्टाइनमा रहेका उनीहरुको बिहीबार स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण नेगेटिभ आएका सबैलाई आ–आफ्नो जिल्ला पठाउन लागिएको उपमेयर उमा थापा मगरले जानकारी दिइन्।
क्वारेन्टाइनमा २५ जिल्लाका नागरिक थिए।
उपमहानगरपालिकाले बसको व्यवस्था गरी सबैलाई घर पठाउन लागिएको उममेयर थापाले जानकारी दिइन्। रुपैडिया नाका भई प्रवेश गर्नेमा पूर्वी जिल्ला झापा र इलामका समेत छन्।
भारतमा लकडाउन भएपछि कामका लागि गएका नेपालीहरु स्वेदश फर्किएका थिए। फर्कने क्रममा नेपालमा समेत लकडाउन सुरु भएपछि उनीहरु चार दिन सीमामा अलपत्र परेका थिए। नेपालगन्ज उपमहानगरको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो।
परीक्षणपछि उनीहरुलाई उपमहानगरपालिकाले क्वारेन्टाइनमा बसेको प्रमाणपत्र समेत उपलब्ध गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।