काठमाडौं- कर्णाली रिडर्स सोसाइटीले आफ्नो फेसबुक लाइभमार्फत पुस्तकको चर्चा गर्दै आइरहेको छ।
देश लकडाउन भएपछि अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर निस्कन नपाइने अवस्थामा यो समयलाइ केही सिर्जनशील बनाऔं न भनेर फेसबुक लाइभमार्फत पुस्तक चर्चा सुरु गरिएको अभियानका सदस्य विनोद शाहीले बताए।
उनका अनुसार उनीसहित पाँच जना साथीहरुबीच सामान्य छलफल भएपछि हरेक दिन भर्चुअल पुस्तक परिचर्चा सुरु भएको हो।
‘हाम्रो फेसबुक पेजबाट हरेक दिन नयाँ कुनै एक पुस्तकमाथि चर्चा गरिन्छ। हरेक दिन नयाँ व्यक्तिले कुनै नयाँ पुस्तकमाथि समीक्षा गर्नुहुन्छ’, शाहीले भने, ‘आजका दिनसम्म १९ जनाले विभिन्न १९ वटा पुस्तकमाथि चर्चा गरिसक्नुभयो।‘
अभियान अन्तर्गत विश्वेश्वरप्रसाद कोइरालाको पुस्तक 'बाबु, आमा र छोरा', म्याक्सिम गोर्कीको 'आमा' लगायतका पुस्तकमाथि चर्चा भइसकेको छ।
जुनसुकै विधाको पुस्तक पनि चर्चा गर्न पाइने शाहीले बताए। ‘हरेक दिन आधा घण्टादेखि एक घण्टा अरुले कुनै पुस्तकमाथि चर्चा गर्दा त्यसलाई सुनेर पनि पुस्तक अध्ययनको भोक मेटाउन सकिने र यो समय पनि सिर्जनात्मक रुपमा व्यतित हुने भएकाले यस्तो अभियान सुरु गरिएको हो’, शाहीले भने।
उनका अनुसार, यो अभियान लकडाउन अवधिभर हरेक दिन हुनेछ। लकडाउनपछि पनि हरेक हप्ताको एक दिन गर्दै अभियानलाई निरन्तरता दिने योजना रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।