धनगढी- महालक्ष्मी विकास बैंकले सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले स्थापना गरेको उक्त कोषमा साे रकम सहयोग गरेको बैंकका शाखा प्रबन्धक प्रकाश खड्काले जानकारी दिए।
बैंकको केन्द्रीय कार्यालयले ५० लाख रकमबाट सातवटै प्रदेशमा चार/चार लाख र संघीय सरकारको कोषमा १२ लाख दिने निर्णय गरेको थियो। सोही अनुसार धनगढीस्थित शाखाबाट बिहीबार सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो।
बैंकका शाखा प्रमुख झंकर कडायतले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरेका थिए। शाखा प्रमुख कडायतले मानवीय सेवा नै सबैभन्दा ठूलो भएकाले रकम सहयोग गरिएको बताए। सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले कोषमा जम्मा भएको रकम उपचार र अन्य आवश्यकताका आधारमा खर्च गरिने बताए। उनले भने, 'प्रदेश सरकारले ४० करोडमा स्थापना गरेको कोषमा अहिले निजी क्षेत्रबाट सहयोग भइरहेको छ। यो रकम स्वास्थ्य उपचार र अन्य आवश्यकताका आधारमा खर्च गरिन्छ।'
मुख्यमन्त्री भट्टले आम नागरिकलाई लकडाउनको पूर्णरूपमा पालना गर्न आग्रह गरे। उनले अहिले पनि आम नागरिकले सामाजिक दूरी र लकडाउनको पालना नगरेको गुनासो गरे। मुख्यमन्त्री भट्टले भने, 'अहिले पनि मानिसहरू दूरी कायम गर्न सकिरहेका छैनन्। त्यसैले तपाईं बैंकर तथा सहकारीहरू आफ्ना ग्राहकलाई यसबारे सचेतना फैलाउनुहोस्।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा एक करोड २३ लाख रकम विभिन्न बैंक, वित्तीय संस्था र संघसंस्थाबाट सहयोग भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।