काठमाडौं– भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ। अहिलेसम्म भारतमा १२ हजार ४ सय ५६ जनालाई यसको संक्रमण भएको छ भने ४ सय २३ जनाको मत्यु भएको छ।
चिकित्सकदेखि स्वास्थ्यर्मीसम्म आफ्नो ज्यान दाउमा लगाएर खटिरहेका छन्। यसका बाबजुत पनि भारतमा स्वास्थ्य विभाग तथा प्रहरी कर्मचारीमाथि आक्रमण हुने क्रम बढ्न थालेको छ।
बुधबार बिहारको हरिसिद्धि गाउँका बासिन्दाले कोरोना भाइरसविरुद्ध सचेतना अपनाउन आग्रह गर्न आएका स्वास्थ्यकर्मी र प्रहरीमाथि आक्रमण गरे। आक्रमणबाट प्रहरी र स्वास्थ्यकर्मी घाइते भएको बताइएको छ।
गाउँलेहरुले स्वास्थ्यकर्मी र प्रहरीलाई रोकेर आक्रमण गरेका थिए। ‘हामीले मानिसले सामाजिक दूरीको अभ्यास नगरेको र लकडाउनको निर्देशन नपछ्याइरहेको निवेदन पाएका थियौं,’ एक प्रहरीले पत्रकारहरुसँग भनेका छन्, ‘यसै कारण मेडिकल टोलीसहति प्रहरी कोरोना भाइरसको संक्रमणबाट हुने खतारबारे जानकारी गराउन त्यहाँ गएका थिए। तर, अवस्था अर्कैतर्फ मोडियो।’
उनले थपे, ‘यद्यपि प्रशासनले संयमता देखायो र त्यहाँबाट बाहिर आयो। केही स्वास्थ्य व्यवस्थापक र सुरक्षाकर्मी घाइते भएका छन्। हामीले अवस्थालाई नियालीरहका छौं।’
यसैबीच, उत्तर प्रदेश जिल्लाको मुरादाबाद जिल्लामा कोरोना संक्रमित व्यक्तिको परिवारलाई क्वारेन्टाइनमा राख्न लिन गएकाे स्वास्थ्य विभागको टोलीमाथि आक्रमण गर्ने १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। यसमा १० पुरुष र ७ महिला छन्।
विभागकाे टोली कोरोना संक्रमण आशंकित परिवारलाई क्वारेन्टाइनमा लिनका लागि गएको बेला आक्रमण भएकाे हाे। आक्रमणमा चिकित्सक, एम्बुलेन्स चालकसमेत कयाैं प्रहरी पनि घाइते भएको बताइएको छ।
मुराबादका प्रहरी निरीक्षक अमित पाठकले भने, ‘नागफनी थाना क्षेत्रको हटस्पटमा बुधबार प्रहरी र स्वास्थ्य विभागकाे टोलीमाथि महिला र केही अन्य मानिसले पत्थर फ्याकेका थिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।