सबैले भन्छन् नयाँ वर्ष
नयाँ यो कहाँ छ?
कुनै हर्ष छैन
नयाँ भन्ने जोश कहाँ छ?
उही पुरानो भ्रष्टाचार
पुरानै भ्रष्टाचारी
उही पुरानो कालो बजार
उनै कालाबजारी
लुट, मारपिट, तस्करी, घुसखोरी
नारी हिंसा, विभेद उस्तै जताततै
न हिजो न्याय बोल्यो
न आज नै कुरा चल्यो
नयाँ वर्ष कहाँ छ?
हजारौं निर्मला यहाँ दिनदिनै लुटिन्छ्न्
बलात्कारी शिर ठाडो पारेर डुलिरहन्छ्न्
पात्रो पल्टिएको मात्र हो
दिन मात्र बदलिएको हो
उही घडी, उही सुई
मितिमा अंक मात्र थपिएको हो
पुराना मान्छे, नयाँ अठोट गर्छन्
अरे केही छैन नयाँ, नयाँ वर्ष भन्छन्!
सबैले भन्छन् नयाँ, त्यो नयाँ कहाँ छ?
छैन उमंग यो वर्ष पनि
नयाँ भन्ने उत्साह कहाँ छ?
उही चुरोट, उही गाँजा, उही रक्सी, उही छ कुलत
उही लागुपदार्थ, उही दुर्व्यसनी
उही सडक दुर्घटना, अकाल मृत्यु उस्तै
अरे केही छैन नयाँ, नयाँ वर्ष भन्छन्!
धनीको धन कहिल्यै नसकिने
गरिब सधैंको गरिब
उही रामेश्यामे, उही गाउँघर
उस्तै ठूला दुर्गन्धित सहर
छैन स्वरोजगारी
उस्तै बेरोजगार
बाध्यता वैदेशिक रोजगारी
फेरिए धेरै तिथिमिति, उस्तै छ कुर्सीमोह
उस्तै राजनीति
राज्यको ढुकुटीमा राज उस्तै
बिरामी पर्दा, विदेश जान्छन् भ्रष्टाचारी
पुरानै छ सोच, के नयाँ कुरा थप्छन्?
छैन केही नयाँ, नयाँ वर्ष भन्छन्!
सबैले भन्छन् नयाँ
त्यो नयाँ खै कहाँ छ?
कुलतमा सुस्तता कहाँ छ?
उही पुरानो मपाईंको हालीमुहाली
उस्तै पुराना तपाईंका सुन्निएका आँखा
उही खोक्रो आडम्बर, रिसराग, वैमनश्यता
काम परे हाइहाइ, नत्र उस्तै छ बाइबाई
नयाँ वर्ष कहाँ छ?
छोरोको पर्खाइमा आमा पिंढीको पिंढीमै
विचरी! सकिन्छ जीवन सिंडी र बिंडीमै
टन्नै छोराछोरी, टन्नै नातीनातिना हजुरआमाका
टेक्नोलोजीको सामीप्यता, भावनामा दूरी
के कुरा गर्ने जमानाको?
नयाँनयाँ एसिड प्रहार भइरहन्छन्
केही छैन नयाँ, तैपनि नयाँ वर्ष भन्छन्!
डाक्टर कुटिइरहन्छ्न्, माफिया बढिरहन्छन्
उही पुरानो झाडापखाला, उही दीर्घरोग
उही धामीझाँक्री, उही रुढीवादी समाज
छैन भरपर्दो सरकार
छैन सिटामोल
मर्छन् बिना उपचार
उस्तै छ मजदुरी, उस्तै छ मजबुरी
हासो नयाँ बन्ने हो कि, उही आँसु गहभरि
पुरानै भोकमरी, नयाँ त नयाँ मात्र महामारी
यही रहेछ नयाँ, अझै नयाँ वर्ष भन्छ्न्!
सबैले भन्ने नयाँ त खुला आकाशमा रहेछ
खुला गोरेटेमा रहेछ
स्वच्छ हावापानी अनि सुन्दर प्रकृतिमा रहेछ
थुनिएर बढेको आत्मीयतामा रहेछ
आमाको माया,आमाको कोखमा रहेछ
फाटेर टालेका मनमा रहेछ
नयाँ कला, नयाँ सृजनामा रहेछ
फुटेर जुटेका विश्व एकता, भाइचारामा रहेछ।
सायद यस्तै नयाँ वर्षको वर्षौंदेखिको चाह थियो
महामारी त पहिले पनि,
रूप फरक, सबैलाई जोड्नु थियो
निचोरिएको, निस्सासिएको प्रकृतिलाई हलुका हुनु थियो
छाँटिसक्यौ
सिकिसक्यौ
सकिन्छ एक दिन यो महामारी
नरहोस् उही पुरानो मनको दुष्ट भाइरस दुराचारी
हुनेछ नयाँ यो युग, यो वर्ष
हटुन् ती दाग
मिलेर सबै एउटै आकाशमुनि बाच्नुपर्छ
नत्र प्रकृतिले तिम्रो भाइरसमा आफ्नो भाइरस छर्नुपर्छ
नखोज नयाँ, मनको भाइरस मर्नुपर्छ
अनि खुल्छन् बन्द तिम्रा ढोका
पुन:मानव प्रकृति खुल्नुपर्छ
यही बनोस् नयाँ
सबैले जीवनको आशा राख्छ्न्
प्रकृतिको कमारो बन, राज नगर
देख्यौ कति क्षति भर्छ्न्?
आफ्नो दायरा बनाऔं, सबै दायरा खुल्छ्न्
उम्रन्छ जोश, जाँगर, नयाँ हर्ष बढ्छ्न्
सायद यस्तै बिहानीलाई नयाँ वर्ष भन्छन्
यस्तै बिहानीलाई नयाँ वर्ष भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।