एजेन्सी- कोरोना भाइरसका कारण अधिकांश युरोपियन देशहरु अहिले लकडाउनको अवस्थामा छन्। तर स्विडेन अझै खुल्लै छ।
हिँडडुलको सुविधामात्रै होइन रेष्टुरेन्ट, पसल अनि विद्यालयहरु समेत बन्द भएका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विडेनको यस्तो व्यवहारले उसले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। तर स्विडेन सरकारले वास्ता गरेको छैन।
स्विडेनमा कोरोना भाइरसको संक्रमण नदेखिएको पनि होइन। त्यहाँ ९ हजार एक सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने संक्रमणबाट ७ सय ९३ जनाको मृत्युसमेत भइसकेको छ।
स्विडेनी विदेशमन्त्री एन लिण्डलाई उदृत गर्दै सिएनएनले लकडाउनको कुनै योजना नभएको र सरकार यस भाइरसबारे नागरिक आफैं सचेत होउन् भन्ने चाहेको बताएको लेखेको छ।
उनले अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सल्लाह दिएको समेत बताएकी छन्। त्यहाँका स्वास्थ्य विज्ञहरुले समेत सरकारले लकडाउन नगर्न गरेको निर्णयलाई साथ दिँदै अहिले जे भइरहेको छ त्यो राम्रै भइरहेको बताएका छन्। स्विडेनको स्वास्थ्य संरचनाले कोरोना भाइरसको समस्यालाई राम्रोसँग ह्ययान्डल गरेको उनीहरुको मत छ।
सरकारले केही नगरेको भने होइन। उसले हात धुन प्रोत्साहित गरिरहेको छ। कोरोना संक्रमणको कुनै संकेत देखिए घरमा बस्न, रेष्टुरेन्टहरुमा भिड नगर्न आग्रह गरिरहेको छ तर कडाई गरेको छैन।
स्कुल बन्द गर्ने सुझाव नआएको पनि होइन। तर विद्यालय बन्द गर्दा काममा जाने अभिभावकहरुलाई समस्या हुने र धेरै बालबालिकामा नकारात्मक असर पर्ने भनेर विद्यालय बन्द गरिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।