राजविराज– भारतबाट लागुऔषध लिएर आएका ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका– १ कोशी ब्यारेज आसपासबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
स ३ प ३०१०, को ७ प ९३२ र बा ४३ प ४६१४ नम्बरको मोटरसाइकल प्रयोग गरी लागुऔषध लिएर आएका कञ्चनरुप नगरपालिका– २ वरमझियाका २९ वर्षीय सुरज साह, वडा नं. ८ का ३२ वर्षीय दिपेन्द्र श्रेष्ठ, वडा नं. ५ का २१ वर्षीय सञ्जय साह र हनुमाननगर कंकालिनी नगरपालिका– १ का १९ वर्षीय कालु साहलाई पक्राउ गरिएको डिएसपी मकेन्द्र मिश्रले बताए।
उनीहरुको साथबाट नाइट्रोजन ट्याब्लेट, डाइलेक्स सिरफलगायतका औषध बरामद भएको उनले जानकारी दिए। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल–भारत दुवै देशमा लकडाउन जारी रहेको र दुवै देशले सीमा नाका बन्द गरेर आवतजावत बन्द गरेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।