एजेन्सी- भारतको महाराष्ट्रका भारतीय जनता पार्टीका विधायक दादाराव केचेले सरकारको आदेश अवज्ञा गर्दै मानिसहरु भेला पारेर जन्मदिन मनाएका छन्। उनले रिक्साबाट आफ्नो जन्मदिनको अवसरमा गरीबहरुलाई रासन बाड्ने प्रचार गराएर घरमा मान्छे भेला पारेर कोरोना संक्रमण रोक्न सरकारले दिएको सामाजिक दूरी बनाउने निर्देशन उल्लंघन गरेको बिबिसी हिन्दीले लेखेको छ।
विधायकको घरमा मान्छेहरुको भिड देखेपछि स्थानीयहरुले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। प्रहरीले तत्काल विधायकको घर सिल गरेर प्रहरीको पहरा लगाएको थियो।
भारतमा कोरोना संक्रमण बढेपछि सरकारले १४४ धारा लगाएर सार्वजनिक स्थानमा भेला हुन रोक लगाएको छ। स्थानीय प्रहरी अधिकारी हरिश धार्मिकले प्रारम्भिक अनुसन्धानमा विधायकले कानुन उल्लंघन गरेको देखिएपछि उनीविरुद्ध निवेदन गर्दा गरेको बिबिसी हिन्दीलाई बताएका छन्।
आरोपी विधायकले भने आफू स्थानीय विधायक भएकाले स्थानीय नागरिकको बैठक राखेर एक अर्कासँग दूरी कायम गर्न र घरमै बस्न आग्रह गरेको तर विपक्षी दलका कार्यकर्ताले अफवाह फैलाएको दावी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।