भैरहवा- प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण सुरु भएको छ। रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको आवास भवनमा प्रयोगशाला निर्माण गरेर परीक्षण सुरु गरिएको हो।
अन्य प्रदेशमा केहि दिन अघिदेखि नै प्रयोगशालाबाट परीक्षण सुरु भएपनि प्रदेश ५ मा भने आइतबार साँझबाट सुरु गरिएको हो। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालको उपस्थितिमा प्रयोगशालाबाट परीक्षण थालिएको हो।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा. राजेन्द्र कुमार गिरीले प्रयोगशाला सञ्चालनमा आएको बताउँदै परीक्षण सुरु भएकाे जानकारी दिए। उनले आइतबार साँझ एकजनाको स्वाब परीक्षण गरिएको बताए। उक्त परीक्षणको रिपाेर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताए। प्रयोगशालाको लागि भवनको आन्तरिक संरचना बनाउनु परेकाले प्रयोगशाला सञ्चालनमा केही ढिलाई भएको उनले बताए।
प्रयोगशालाबाट एक दिनमा १५/१६ वटा नमूना परीक्षण गर्न सकिने र सामान्यतया १ घण्टामा एउटा रिपोर्ट प्राप्त गर्न सकिने प्रदेश ५ का सामाजिक विकासमन्त्री बरालले जानकारी दिए। प्रदेशभित्र कोभिड १९ को जाँच गर्ने प्रयोगशाला नहुँदा आइसोलेसन अस्पतालमा भर्ना भएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता थियो।
सोमबार बिहानसम्ममा २३ वटा स्याम्पल प्राप्त भएको प्रमुख गिरीले बताए । उनले ती स्याम्पल परीक्षण सुरु हुन लागेको बताए। परीक्षणका लागि काठमाडाैंबाट एक जना विज्ञ आएका छन् भने २ जना प्रदेश जनस्वास्थ्य प्रयोगशाला मातहतका जनशक्तिले काम गरिरहेको प्रमुख गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।