राजविराज– सप्तरीमा शनिबार एकैदिन ८ स्थानमा आगलागी भएकाे छ। आगलागीबाट करिब ८ लाख मूल्य बराबरकाे क्षति भएको छ। गर्मी माैसम सुरु भएसँगै हावाहुरीका कारण आगलागीका घटना बढेका हुन्।
कञ्चनरुप नगरपालिका–१ मलकोरका ५२ वर्षिय अनवरुल शेखले लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले ११ वटा पशुपन्छीसहित करिब साढे तीन लाख रुपैयाँ बराबरकाे क्षति भएको छ। शनिबार राति करिब साढे ९ बजे सुरु भएको आगलागीमा परी अनवरुलको एकतले गोठ र गोठमा रहेका ३ वटा गाई जलेर मरेका छन्।
यसैगरी, छिमेकी अगनु शेखको ३ वटा खसी र ५ वटा कुखुरा जलेर मरेको स्थानीयले जानकारी दिए। कञ्चनरुप नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय कञ्चनपुर र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
यसैगरी, डाकनेश्वरी नगरपालिकामा दुई ठाउँमा पनि आगलागी भएको छ। डाक्नेश्वरी नगरपालिका ९ बस्ने राजलाल मेहताको गोठमा विद्युत् सर्ट भएर आगलागी हुँदा गोठ र गोठभित्र रहेका खाट, पंखा, पानी तान्ने मोटर, ५० मन धान, ३० मन गहुँ गरी करिब २ लाख मूल्य बराबरकाे क्षति भएको छ।
डाक्नेश्वरी नगरपालिका ३ का मो.जिवरी, मो. अजिज र मो.सुदिनको खेतमा राखेको १/१ वटा परालको टाल जलेको छ। करिब ५० हजारको क्षति भएको स्थानीयले जनाएका छन्।
खड्क नगरपालिका– ५ खोजपुरका लक्ष्मीनारायण साहकाे १० कठ्ठा खेतको गँहु जल्दा २५ हजार रुपैयाँ बराबरकाे र सुरुङगा नगरपालिका– ३ दौलतपुरका सत्यनारायण चौधरीको तीन वटा परालको टाल जल्ला ३० हजार रुपैयाँ बराबरकाे क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बोदेबर्साईन नगरपालिका– ६ फूलकाहीका रामसेवक ठाकुर, सिया ठाकुर, ब्रम्हदेव ठाकुर, धर्मदेव ठाकुर र ईन्द्र ठाकुरको १/१ वटा परालको टालमा आगलागी हुँदा करिब ५० हजार मूल्य बराबरकाे क्षति भएको छ। वडा नं. ९ सिमराहा टोलका बेचन मण्डलको गोठमा आगलागी हुँदा घरको आधा भाग जलेर करिब ५० हजार मूल्य बराबरकाे क्षति भएको छ।
रुपनी गाउँपालिका– ४ छपकी भथौलका महेन्द्र मलाहको फुसको गोठमा आगलागी हुँदा परालको टालसमेत गरी ५० हजार मूल्य बराबरकाे क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।