काठमाडाैं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोना भाइरस (कोभिड-१९)को महामारी दिनानुदिन बढ्दै गइरहेको भन्दै गम्भीर र जिम्मेवार बन्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ। साथै राजपाले महामारीबाट जोगिन तथा लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आ-आफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग अपिल पनि गरेकाे छ।
राजपा संयाेजक शरतसिंह भण्डारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएकाे छ, 'महामारीको बेलामा सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दु:खद र गैरजिम्मेवारीको पराकाष्ठा हो। त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गएकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीहरुमाथि कडाभन्दा कडा कार्वाहीको माग गर्दछौं।'
राजपाले नेपाल र भारतको सिमानामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल ती नागरिकहरुलाई स्वदेश ल्याउन वातावरण बनाउन माग गरेकाे छ। साथै स्वास्थ्य चेकजाँच गरी शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न समेत आग्रह गरिएकाे छ।
'अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिक सम्म पुर्याउने निर्णय सरकारले गरे पनि आजको दिनसम्म कार्यान्वयन नभएको हुनाले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन र तत्तपरता देखाउन ध्यानाकर्षण गराउन चाहन्छौं', विज्ञप्तिमा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।