नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन्। मोदीले देशवासीका नाममा ११ मिनेट लामो एक भिडियो सन्देश सार्वजनिक गरेका हुन्।
भिडियाे सन्देशमा उनले भनेका छन्, 'कोरोना भाइरसको विरुद्धको लकडाउनमा नागरिकले अनुशासनको परिचय दिएका छन्।' आउने आइतबार (अप्रिल ५) राति सम्पूर्ण नागरिकलाई उनले ९ मिनेटसम्म घरको बत्ती बन्द गर्न आग्रह गरेको छन्।
बत्ती निभाएर मैनबत्ती, टर्च, दियो अथवा मोबाइलको फ्ल्याश लाइट बाल्न उनले सबैमा अनुरोध गरे। मैनबत्ती, टर्च, दियो अथवा मोबाइलको फ्ल्याश लाइट बलेको अवस्थामा कोही पनि घरबाहिर ननिस्कन र सोशल डिस्टेन्सिङको पालना गर्न मोदीले सबैमा आग्रह गरेका छन्।
अन्धकारमय कोरोनालाई हराउनको लागि देशमा प्रकाश फैलाउन आवश्यक रहेको उनले बताए। मोदीले भनेका छन्, 'आइतबार हामी १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाईमा लिएर जानेछौं। आउनुहोस् सबै मिलेर (एकसाथ) कोरोनालाई हराऔं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।