नयाँ दिल्ली- भारतका ठूला सहरहरुमा काम गर्ने मजदुर आप्रवासीहरु यति लामो बाटो हिँडेर आफ्नो घर फर्किँदैछन्। कोरोना भाइरसको त्रासका कारण सरकारले ‘लकडाउन’ गरेपछि सहरमा रहेका उद्योग कारखाना बन्द भएपछि कामविहीन बनेका उनीहरु सयौँ माइल हिँडेर घर फर्किएका हुन्।
यसरी घर फर्किनेहरुमध्ये कतिपयले त कैयौं दिनदेखि खान पाएका छैनन्। धेरैजसो पानी र विस्कुटको भरमा छन्। तर घर पुग्न उनीहरु सयौँ माइल हिँड्दै छन्। उनीहरु विभिन्न समूहमा छन् र केही आ–आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि छन्।
कतिपय वृद्धवृद्धा छन् त कति स–साना केटाकेटी। केही मात्र त्यो समूहमा युवायुवती छन्। महिला र पुरुष बराबारी छन्। उनीहरु मरुभूमिको बाटोमा हिँडिरहेका छन्। कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन्। अनि युवायुवतीहरुले आफ्ना साना सन्तानलाई काखमा लिइरहेका देखिन्छ।
उनीहरु आफै पनि कोरोना भाइरससँग तर्सिएर आफ्नो घर फर्किन लागेका हुन्। उनीहरुले सहरमा बस्दा प्रयोग गरेका आफ्ना सरसामानहरुसहित यति लामो बाटो हिँडेर गाउँ जान लागेका हुन्।
यसरी सहरबाट नागरिक लुकिछिपी भित्री बाटोहरु भएर आफ्नो घरमा पुग्ने गरेका छन्। यदि भारतमा हाल जारी राखिएको वर्तमान लकडाउनलाई अझै केही दिन लम्बाउने हो भने यहाँ यस्ता मजदुर बर्गमा ठूलो समस्या ल्याउने बताइन्छ।
भारत सरकारले २१ दिने लकडाउनकाे घोषणा गरेको छ। यसबाट भारतका करिब एक अर्ब ३० करोड नागरिक घरभित्रै बस्नु परिरहेको छ। सामान्य रुपमा बिहान बेलुकी खाद्यान्न र तरकारीका लागि खोल्ने बाहेक भारतमा पसलहरु पनि खुलेका छैनन्।
विश्वको दोस्रो ठूलो धेरै जनसंख्या भएको देश भारतमा यसरी गरिएको यो लकडाउनले नागरिकमा खाद्यान्नलगायतको संकट पनि निम्त्याउन सक्ने अनुमान धेरैले गरेका बताइएको छ। यसले दिनहुँ नै ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका करोडौँ भारतीय नागरिकलाई ठूलो मार परेका छन्। बजार तथा उद्योगहरु नै बन्द भएका कारण यहाँका करोडौँ नागरिकले बिहान बेलुकी खानाको समस्यामा पर्नसक्ने बताइएको छ। (रासस,एपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।