काठमाडौं– युरोपियन मुलुक रोमानियामा कार्यरत ५ सय नेपाली श्रमिकहरुलाई रोजगारदाताले बेतलबी बिदामा राखेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि मेड सर्भिस्, हस्पिटालिटी, निमार्ण र अन्य क्षेत्रमा कार्यरत मध्ये हस्पिटालिटी क्षेत्रमा कार्यरत ५ सय श्रमिकहरुलाई बेतलबी बिदामा राखिएको हो।
निमार्ण तथा अन्य क्षेत्रमा कार्यरत रहेका १ हजार श्रमिकहरुलाई रोजगारदाताहरुले ७५ प्रतिशत पारिश्रमिक उपलब्ध गराउने गरी बिदामा राखिएको छ। महावाणिज्यदूत नवराज पोखरेलले कामदार र रोजगारदाताबीच यस्तो सहमति गराउन सफल भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।
रोमानियामा करिब ३ हजारको संख्यामा नेपाली कामदारहरु रहेको अनुमान छ।
विश्वमा महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका कामदारहरु यतिबेला समस्यामा परेका छन्। कतिपयको रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ भने कतिपय श्रमिकहरु बेतलबी बिदामा बसिरहेका छन्।
मलेसियालगायत खाडीका केही मुलुकहरुले भने क्वारेन्टाइमा रहेका नेपाली श्रमिकहरुलाई आधारभूत पारिश्रमिक उपलब्ध गराउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।