काठमाडौं- सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै लकडाउन गरेको छ। लकडाउन सुरु भएको आज चाथौं दिने हो। तर, लकडाउन भएपनि सरकारले विभिन्न भूभागमा अलपत्रमा परेको विदेशी नागरिकको उद्धार भने गरेको छ।
विदेशी नागकिरको उद्धारमा कतिपय देशका दूतावास आफैं लागिपरेका छन् त कतिपय विदेशीको उद्धार गरी नेपाल पर्यटन बोर्डले काठमाडौं ल्याइरहेको छ। काठमाडौं ल्याइएका मध्ये ९ सय ९ जना यूरोप फर्किसकेका छन्।
विदेशी पर्यटकको उद्धार बुधबारबाट भएको हो। ४ दिनमा लगभग १२ सय पर्यटकको उद्धार गरी काठमाडौं ल्याइसकिएको छ।
शनिबारमात्रै १६ वटा विमान तथा हेलिकोप्टर उडानबाट ३ सय ९ जना विदेशी पर्यटकलाई काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। विदेशी नागरिकसँगै रहेका १० नेपालीलाई समेत काठमाडौं ल्याइएको छ।
लुक्लाबाट विदेशी पर्यटक उद्धारका लागि नेपाल एयरलाइन्स, तारा, सिता र समिट एयरले लुक्लामा १२ उडान गरेका थिए भने कैलाश हेलिकोप्टरले २ वटा उडान गरको थियो। लुक्लाको १४ वटा उडानबाट ५ नेपालीसहित १ सय ७३ जना विदेशीलाई उद्धार गरी काठमाडौं ल्याइएको हो। शनिबार नेपाल एयरलाइन्सले लुक्लामा ५, तारा ४, सिता २ र समिट एयरले १ वटा उडान गर्दै विदेशीको उद्धार गरेका थिए।
यसैगरी शनिबार नै पोखरामा भएको ३ वटा उडान मार्फत १ सय ३६ जना विदेशी र ५ जना नेपालीको उद्धार गरिएको छ। तर, शनिबारको आन्तरिक उडानमा एउटा दुर्घटनासमेत भएको छ। दुर्घटनामा मानवीय क्षती भने भएको छैन।
नेपाल एयरलाइन्सको वाई–१२ जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो। नेपाल एयरलाइन्सको वाई–१२ जहाज कोरोना संक्रमितको शंकामा संकलन भएको नमूना परीक्षणका लागि लिन नेपालगञ्ज गएको थियो। तर, जहाज अवतरणको क्रममा दुर्घटनामा परेको हो। दुर्घटनापछि पुनः नेपाल एयरलाइन्सले ट्विनअटर जहाज लगेर जहाज दुर्घटनामा परेको वाई १२ जहाजका चालक दलका ३ सदस्य र कोरोना परीक्षणका लागि संकलन भएको नमूना लिन गएका दुई जनालाई समेत गरी संकलन भएको नमूना काठमाडौं ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।