धनगढी- कैलालीकाे धनगढीका काेराेना भाइरस संक्रमित युवाका आफन्तहरुकाे थ्रोट स्वाब संकलन सुरु भएको छ। शनिबार बिहान ११ बजेतिर परिवारका सबैजनालाई सेती प्रदेशिक अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याइएको थियो।
अस्पतालको आइसोलेसनमा राखेर उनीहरुकाे स्वाब संकलन भइरहेको कैलाली प्रहरीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। शुक्रबार धनगढी उपमहानगरपालिका ५ का युवामा कोरोना संक्रमित भएकाे पुष्टि भएको थियो। उनको परिवारमा बुवा, आमा, दाजु, भाइजू, भतिजी, श्रीमती र छोरी गरी ७ जना छन्।
‘परिवारका सदस्यको स्वाब संकलन भइरहेको छ। त्यसका लागि एक समिति नै गठन भएको छ,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने। उक्त समितिले ती युवा कहाँ गएका थिए र काे काे सँग भटेका थिए सबै हिस्ट्री पनि तयार पार्ने उनले बताए।
ती युवा चैत ६ गते दुबईबाट विराटनगरका एक साथीसँगै काठमाडौं आइपुगेको बताइएको छ।
धनगढीका लागि सिधैं जहाजको टिकट नपाएपछि उनी चैत ८ गते दिउँसो बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएको प्रहरीले जनाएकाे छ। नेपालगञ्जबाट पनि उनी माइक्रो बस (हाइस)मा धनगढी आएका हुन्।
ती युवाले परिवारका सदस्य र अन्य आफन्तसँग पनि भेटघाट गरेकाे प्रहरीले जनाएको छ। उनलाई कोरोनाकाे जस्तै लक्षण देखिएपछि महेन्द्रनगरमा रहेका एकजना आफन्त युवकले चैत ११ गते धनगढीस्थित सेती प्रादेशीक अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याउने युवकसँग पनि सम्पर्क भइसकेको र उनी महेन्द्रनगरबाट धनगढीस्थित प्रादेशीक अस्पताल आउने डीएसपी बस्नेतले बताए।
काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरका यात्रुहरुको पनि एयरलाइन्सले नै खोजी गरिरहेको प्रहरीले जनाएको छ।
सेती अस्पतालमा रहेका उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए। सेती अस्पताल र सुदूरपश्चिमका विभिन्न जिल्ला अस्पतालबाट अहिलेसम्म २७ जनाको कोरोना जाँच गरिएको छ। ती मध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा संक्रमण देखिएको छ। १३ जनाको अझै रिपार्ट आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।