एजेन्सी–विश्वका १ सय ७७ देश र राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। कुल ५ लाख ९५ हजार ९ सय ५३ जना (समाचार तयार पार्दासम्म) मा संक्रमण देखिएको छ भने २७ हजार ३ सय ३३ ले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म चार जनामा देखिएको छ।
जोन हप्किन्स विश्वविद्यालयको शुक्रबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार १ लाख ३१ हजार ७ जना उपचारपछि निको भएका छन्। चीनको वुहानवाट सुरु भएको कोरोना भाइरसले अहिले युरोप र अमेरिकामा तान्डव मच्चाइरहेको छ। अमेरिकी, इटाली , स्पेन र इरानमा यसले सबैभन्दा धेरै क्षति पुर्याई रहेको छ।
संक्रमितको संख्यामा अमेरिका चीनलाई उछिनेर पहिलो नम्वरमा पुगेको छ भने मृतकहरुको संख्यामा इटाली पहिलो नम्बरमा र स्पेन दोस्रो नम्बरमा छन्। हालसम्म अमेरिकामा १ लाख ४ हजार ७ जनामा संक्रमण पाइएको छ भने १५ सय ४३ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा ८६ हजार ४ सय ९८ मानिसमा संक्रमण भएको पाइएको छ भने ९ हजार एक सय ३४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै स्पेनमा हालसम्म ६५ हजार ७ सय १९ मानिसमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ भने ५ हजार १ सय ३८ जनाले ज्यान गुमाएका छन्।
खासगरी इटाली र स्पेनमा ज्यान गुमाउने र संक्रमित नयाँ बिरामी फेला पर्ने संख्या हरेक दिन वृद्धि भइरहेको विषय त्यहाँको सरकारलाई टाउको दुखाइ भइरहेको छ। यसरी संक्रमित हुनेमा अस्पतालका कर्मचारी,डाक्टर र नर्ससमेत थपिँदा यी देशमा चिन्ता बढेको पाइएको छ।
२४ घन्टामा १६ सय ८८ ले ज्यान गुमाए
पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा इटाली र स्पेनमा मात्र मृत्यु हुनेको संख्या १६ सय ८८ जना पुगेको छ। इटालीमा ९ सय १९ र स्पेनमा ७ सय ६९ जनाले ज्यान गुमाएका छन्। यी देशहरुका हरेक दिन सयौको संख्यामा मानिसले ज्यान गुमाइरहेका छन्। इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएपछिकै सबैभन्दा धेरै मानिसले शुक्रबार ज्यान गुमाएका छन्।
युरोपमा इटाली सबैभन्दा नराम्रोसँग कोरोनाको चपेटामा परेको छ। पुरै इटाली बन्द रहेको छ। सबै मानिस आ–आफ्ना घरमा कैद छन्। संक्रमण र मृतकको संख्या कम नभएपछि शुक्रबार इटाली सरकारले देशभर लागेको लकडाउनलाई ३ अप्रिलसम्मका लागि थप हुनसक्ने बताएका छन् । इटालीको उत्तरी इलाका लोम्बार्डी कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । इटाली सरकारलाई डर छ कि लोम्वार्डीजस्तै दक्षिणी भाग पनि कोरोनाको चपेटामा नपरोस्।
बीबीसी संवाददाता मार्क लोबेनका अनुसार इटालीमा कोरोना त्रासदी लगातार विकराल रुप लिइरहेको छ। देशको ग्रामीण जनसंख्या हर दिन कम हुँदै गइरहेको छ। लोम्बार्डीमात्र पछिल्लो २४ घन्टामा ५ सय ४१ जनाले ज्यान गुमाएका छन्।
युरोपमा इटालीपछि सबैभन्दा बढी प्रभावित देश हो स्पेन। यहाँ कोरोना त्रासदीकै रुपमा फैलिएको छ। हरेक दिन कोरोना भाइरसका बिरामीले ज्यान गुमाइरहेका छन्। तर यहाँ संक्रमण फैलने क्रम भने केही दिनदेखि कमि आएको सरकारको दावी छ। स्पेनमा हालसम्म ६४ हजार ५९ संक्रमित छन्। स्पेनमा पछिल्लो २४ घन्टामा ७६९ जनाले ज्यान गुमाएका छन् भने मर्नेहरुको कूल संख्या ५ हजार १ सय ३८ पुगेको छ ।
स्पेन सरकारले देशभर लागू भएको आपतकाललाई बढाएर १२ अप्रिलसम्म पु¥याएको छ। युरोपको अर्को देश फ्रान्समा कोरोना भाइरसका कारण २४ घन्टामा २९९ ले ज्यान गुमाएका छन् भने कूल संख्या १ हजार ९ सय ९५ पुगेको छ। फ्रान्सका कूल ३३ हजार मानिस संक्रमित छन्। फ्रान्सका प्रधानमन्त्रीले मानिसलाई १५ अप्रिलसम्म घरमै बस्न आग्रह गरेका छन्।
एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।