काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको आलोचना बढिरहेको बेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले बचाउ गरेका छन्।
कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि मुख्य जिम्मेवारीमा रहेका मन्त्री ढकालको व्यवस्थापकीय क्षमतामा प्रश्न उठिरहेको छ। चिकित्सकका लागि आवश्यक सुरक्षा कवच सामग्री (पीपीई) समयमा उपलब्ध गराउन नसकेकोमा आलोचना भइरहेको छ। पीपीइकै सन्दर्भमा उनले दिएको अभिव्यक्ति समेत विवादित बनेको थियो।
प्रतिपक्ष दल र नागरिकका तर्फबाट गरिएको आलोचनाको नेता रिजालले कडा प्रतिवाद गरेका छन्।
मन्त्रीको बचाउमा उनले ट्विटरमा लेख्छन्, ‘मन्त्रीले चाहनेबित्तिकै रातारात पीपीई बन्छ, अस्पताल तयार हुन्छन् र सबै मानिसको परीक्षण हुन्छ जस्तो गरी भ्रम सिर्जना गर्नुका पछाडि अहिले पनि स्वास्थ्य क्षेत्र (स्वास्थ्य मन्त्रालयमा समेत) पकड जमाइरहेको गिरोहको हात छ।’
स्वास्थ्य मन्त्रालयमा गिरोहको पकड भएको उल्लेख गरेका रिजालले गिरोहबारे भने थप खुलाएका छैनन्। काम गरिरहेका मन्त्रीलाई लखेटेर संकटमा राजनीतिक स्वार्थको रोटी सेकाउन लागिएको उनको तर्क छ। ‘संकटमा राजनीतिक स्वार्थको रोटी सेकाउन खोज्ने’बाट सावधान हुन जरुरी रहेको बताएका नेता रिजालले उनले स्वार्थको रोटी सेकाउन खोज्नेहरु को हुन् भन्ने पनि खुलाएका छैनन्।
मन्त्री ढकाललाई काम गर्नै नदिएर खेद्ने हतारो भइरहेको उनको बुझाई छ। मन्त्रीको कार्यक्षमतामाथि प्रश्न गर्नेलाई उनको प्रतिप्रश्न छ, ‘काम गर्न पाएकै छैन, लखेट्न कति हतार हो? सबैलाई थाहा छ, स्वास्थ्यमन्त्री स्वास्थ्यको विज्ञ होइन र सबै कुरा थाहा नहुनु अन्यथा होइन।’
राज्यका सीमा, स्रोत र साधनले भ्याएसम्म नागरिकलाई बचाउन हरसम्भव कोसिसमा मन्त्री ढकाल लागेको भन्दै उनको कार्यको तारिफ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।