काठमाडौं- सरकारले सरकारी, निजी वा सामुदायिक कुनै पनि अस्पतालले शंकाको भरमा बिरामीको उपचार गर्न सक्दिन भन्न नपाउने प्रष्ट पारेको छ। अहिले न्यूनतम सुरक्षा सामग्री उपलब्ध भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले कुनै पनि चिकित्सक वा अस्पतालले शंकाको भरमा बिरामीको उपचार गर्दिन भन्न नपाउने बताए।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकका निर्णय सुनाउँदै सञ्चारमन्त्री समेत रहेका खतिवडाले पेशागत धर्मबाट कोही पनि विमुख हुन नहुने बताए। 'सुरक्षित वातावरण बनाइदिने काम हाम्रो हो, त्यो सरकारले गर्छ,' उनले भने, 'बिरामीको उपचार गर्दिनँ भन्न मिल्दैन।'
सरकारले पश्चिमाञ्चल अस्पताल पोखरालाई डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने निर्णय पनि गरेको छ। गण्डकी प्रदेशको प्रस्तावमा यो अस्पताललाई कोरोनाको डेडिकेटेड अस्पतालका रुपमा विकास गर्ने निर्णय भएको पनि खतिवडाले बताए।
सरकारले निजी क्षेत्रबाट बनेका पर्सनल प्रोटेक्सन इक्विपमेन्ट स्वास्थ्य सेवा विभागबाट प्रमाणिकरण भएपछिमात्रै सञ्चालनमा आउने पनि प्रष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।