काठमाडौं- सरकारले विभिन्न मुलुकबाट आयातित वस्तुको कागजपत्रको छायाँप्रति (फोटोकपी)कै आधारमा भन्सार जाँचपास गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले भन्सारमा अड्केका सामानको छिटो जाँचपास गर्न व्यवसायीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले भन्सार विन्दूमा अड्केका उपभोग्य सामान छिटो उपभोक्ताको घर दैलोमा पुर्याउन निजी क्षेत्रलाई आव्हान गर्ने निर्णय गरेको पनि जानकारी दिए। खतिवडाले ठूला व्यवसाय तत्कालका लागि स्थगन नै राख्ने निर्णय भएको पनि बताए।
'सामान्य किनमेल गर्न जाँदा कसैलाई अवरोध भएको अवस्थामा वा भन्सारबाट बजारसम्म उपभोग्य वस्तु लैजाने विषयमा कतै अवरोध छ भने त्यसलाई सहजीकरण गर्ने निर्णय भएको छ,' मन्त्री खतिवडाले भने, 'विभिन्न ठाउँमा विदेशी पर्यटकबाट उद्दार गरी पर्यटन बोर्डले सुरक्षाका साथ निगरानीमा राख्ने निर्णय भएको छ।'
यसैगरी उद्योग कलकारखाना बन्द भएका कारण समस्यामा परेका श्रमिकलाई उनीहरुको गन्तव्यसम्म पुर्याउने पनि सरकारले निर्णय गरेको छ। यस्तै विदेशमा अलपत्र परेका विद्यार्थीका लागि नेपालबाट रकम पठाउन सटही सुविधा दिने निर्णय पनि सरकारले गरेको खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।