धनगढी- धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकको अवस्था समान्य रहेको अस्पतालले जानकारी दिएको छ। शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै सेती प्रादेशिक अस्तपालले ३४ वर्षीय ती युवकको अवस्था सामान्य रहेको जानकारी दिएको हो।
यसका साथै उपचारमा कुनै कमी नभएको समेत अस्पतालले जानकारी दिएको छ। 'प्रोटोकल अनुसार निजको उपचारमा कुनै कमी नभएको साथै निजको अवस्था हाल सामान्य रहेको व्यहोरा जानकारी गराइन्छ,' अस्पतालले जारी गरेको विज्ञफ्तिमा भनिएको छ।
उनी दुबइबाट नेपाल फर्किएका हुन्। कोरोना संक्रमित ती युवा चैत ११ गते सेती प्रादेशिक अस्पताल भएका थिए।

तर उनलाई ल्याएर भर्ना गरेका व्यक्ति भने हालसम्म पनि प्रहरीको सम्पर्कमा छैनन्। प्रहरीको सम्पर्कमा नभएका कारण उनको खोजी थालिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पतालसम्म पुर्याउनेको खोजी सुरु गरिएको जानकारी दिए। ती युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन्।
युवकका सम्पर्कमा आएका अन्य व्यक्तिको समेत खोजी सुरु गरिने भएको छ।
स्वास्थ्य मन्त्रालयले साँझ आकस्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो।
तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।