काठमाडाैं- अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलले कोरोना भाइरसविरुद्ध लड्न चाल्ने कदममा मानव अधिकारलाई केन्द्रमा राख्न आग्रह गरेको छ। एम्नेष्टिले विज्ञप्ति निकाल्दै दैनिक ज्यालदारी गर्ने, द्वन्द्वले विस्थापित, स्वाथ्यकर्मी र बन्दीलाई संरक्षण गर्न सरकारलाई आग्रह गरेको हाे।
दक्षिण एसिया क्षेत्रका अधिकारीहरुलाई मानव अधिकारलाई केन्द्रमा राख्न, सीमान्तकृत र उच्च जोखिममा रहेका दैनिक ज्यालदारी गर्ने, द्वन्द्वले विस्थापित, स्वाथ्यकर्मी र कैदीबन्दीको संरक्षणका लागि सघन प्रयत्न गर्न उसले आग्रह गरेको छ। यो क्षेत्रमा पहिले नै ६ सय मिलियन मानिस गरिबीमा रहेको भन्दै एम्नेष्टीले कोरोना भाइरस संक्रमणले निकै प्रभावित पार्न सक्नेप्रति चिन्ता प्रकट गरेको हाे।
भाइरसबारे सहि सूचना आदान–प्रदानमा ध्यान दिन र यस क्षेत्रका शरणार्थीको संरक्षणमा पनि ध्यान पुर्याउन एम्नेष्टीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।