काठमाडौं– मंगलबारबाट देशभर लकडाउन शुरु भएपछि अत्यावश्यक सेवाका बाहेक कुनै पनि सवारी साधन चलेका छैनन्। यहीकारण अहिले देशभरका सबै पेट्रोलियम डिपो र पम्पहरु भरिएका छन्।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार पेट्रोल र डिजेलको भण्डारण क्षमताको शतप्रतिशत इन्धन निगमसँग छ। निगमको पेट्रोल भण्डारणको क्षमता ८ हजार ६ सय ३२ किलोलिटर रहेकोमा शुक्रबारसम्म ७ हजार १ सय ४७ किलोलिटर छ। त्यस्तै डिजेलको भण्डारण क्षमता ४५ हजार ५ सय ३४ किलोलिटर रहेकोमा ४० हजार ४ सय ७२ किलोलिटर मौज्दात छ।
५ हजार ६८ किलोलिटर बराबर मट्टितेलको भण्डारण क्षमता रहेकोमा २ हजार ६ सय २७ किलोलिटर र ८ हजार किलोलिटर हवाई इन्धन भण्डारको क्षमता रहेकोमा ७ हजार २ सय १२ किलोलिटर मोज्दात रहेको छ।
यसरी निगमको कुल ६७ हजार २ सय ९९ किलोलिटर बराबर पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेकोमा शुक्रबारसम्ममा ५७ हजार ४ सय ६० किलोलिटर मौज्दात छ। बाँकी निगमले सेफ जोन (अति अत्यावस्यक प्रयोजनका लागि) मा राख्ने गरेको १० प्रतिशत पेट्रोलियम पदार्थको मौज्दातलाई समेत हेर्दा अहिले निगमको सबै भण्डारणकक्ष भरिएको अवस्थामा छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।