काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आवश्यक परे सहमतिको सरकार बनाउन सकिने वरिष्ठ नेता रामचन्द्र पौडेलको धारणा पार्टीको आधिकारिक धारणा नभएको बताएका छन्। नेता पौडेलले संकटको बेला दुनियाँमा आम सरकार बन्ने प्रचलन रहेको बताउँदै आवश्यक पर्यो भने आमसहमतिको सरकार पनि बनाउनुपर्ने बताएका थिए।
बिहीबार साँझ फेसबुक लाइभमा नेता पौडेलले राखेको आम सहमतिको सरकार बनाउनुपर्ने पार्टीभित्र छलफल नभएको प्रवक्ता शर्माले प्रष्टाए। नेपाल लाइभसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, 'यो बेला सरकारमा नरहेर पनि सरकारलाई सघाउन सकिन्छ। सरकार बनाउने/बदल्ने समय होइन। सरकारलाई राम्रोसँग काम गर भन्ने बेला हो।’
वरिष्ठ नेताको अभिव्यक्ति आइसकेपछि प्रवक्ता शर्माले नेता पौडेललाई उदृत नगरिकनै सरकारमा सँगै नभएर पनि कोरोनाको संक्रमणविरुद्ध लड्न सकिने ट्विटमा लेखेका थिए। सबैको साझा संघर्षको समयमा कांग्रेस सरकार बाहिरै रहेर सहयोग गर्न तयार रहेको उनले प्रतिक्रिया दिए।
‘सरकारलाई हामीले बल दिने र सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला हो यो।’ शर्मा लेख्छन्, ‘युद्ध तब जितिने छ, नत्र ठूलो क्षतिको साइरन बजिसकेको छ, कस्ले कति गम्भीर भएर सुन्यौं त्यो अलग कुरा हो।’
सरकारको लकडाउनको निर्णयलाई सक्रिय समर्थन जनाएको कांग्रेसले काेराेना संक्रमण र राेकथामका लागि स्थापित कोषमा सहयोग उपलब्ध गराएको छ। पार्टीको तर्फबाट घाेषित ५० लाख रुपैयाँ ‘कारोना कोष’को खातामा प्रवक्ता शर्माले बिहीबार जम्मा गरेका छन्।
कांग्रेसका संघीय सांसदहरुले आधा महिनाको पारिश्रमिक उक्त कोषमा जम्मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।