इरबिल कुर्दिस्तान–कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनका बीच पनि इराकको कुर्दिस्तानमा दुई नेपाली कामदार मानव तस्करीमा परेका छन् ।
बुधबार बिहान दुई नेपालीहरुलाई एक वाहनमा इराकको इरबिल प्रान्तमा लैजाँदै गरेको अबस्थामा कुर्दिस्तान क्षेत्रको ट्राफिक प्रहरीले फेला पारी उद्धार गरेको हो।
कुर्दिस्तानस्थित ट्राफिक प्रहरीका प्रवक्ता फाजिल हाजीले भने, ‘इरबिल ट्राफिक प्रहरीले बुधबार बिहान एक वाहन पक्राउ गर्यो, जसमा पैसाका लागि दुई नेपालीलाई इरबिल पुर्याउने योजना थियो ।’ बयानमा वाहन इरबिल प्रान्तमा कहाँबाट प्रवेश गर्यो भनेर खुलाईएको छैन।
प्रवक्ता हाजीका अनुसार नेपालीलाई वाहनमा हालेर लैजाँदै गरेका चालकले यसअघि पनि विभिन्न कसुरमा सजाय पाइसकेका छन् ।
यो घटनासहित लकडाउनका बाबजुद मानव ओसारपसारका दुई प्रयासलाई त्यहाँको स्थानीय ट्राफिक प्रहरीले असफल बनाइदिएको छ। गत सोमबार इर्बिल प्रान्तमा मानव ओसारपसारको अर्को घटनालाई पनि असफल बनाइदिएको थियो । इराकका विभिन्न स्थानहरुबाट मासु बोक्ने गाडीमा दुई आप्रवासी कामदारलाई तस्करी गर्दै गरेको अवस्थामा फेला पारिएको थियो। ट्राफिक प्रवक्ता हाजीकाअनुसार ती दुई व्यक्ति एक महिला र एक पुरुष अरेबियन रहेको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उद्धार गरिएकाहरु सबैको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
कोभिड १९ प्रकोप रोक्न इराक सरकारले कुर्दिस्तान लगायतका सहरहरुमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु किनमेल गर्नबाहेक अन्य यात्रा गर्न रोक लगाएको छ। सवारी पनि अत्यावश्यक कामका लागि मात्रै खुल्ला गरिएको छ । धार्मिक सेवाहरु तथा सार्वजनिक जमघटसमेत बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।