काठमाडौं– विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभाव विश्वका शक्तिशाली देशहरुको समूह जी–२० मा पनि परेको छ। सन् १९९९ मा बनेको जी–२० समूहको इतिहासमै पहिलोपटक बिहीबार ‘भर्चुअल समिट’ भएको छ।
कोरोना संक्रमणको त्रासका कारण विश्वका नेताहरु आ-आफ्नो देशबाटै भिडियो कन्फ्रेन्समाफर्त् सम्मेलमा सहभागी भएका थिए। साउदी अरेबियाले अध्यक्षता गरेको सम्मेलनमा कोरोना महामारीविरुद्ध लड्न संयोजनकारी प्रयत्न गर्नुपर्ने र मानवीय, आर्थिक असरलाई कम गर्ने विषयमा छलफल भएको थियो।
‘यो मानवीय संकटका लागि विश्वव्यापी प्रतिक्रिया आवश्क हुन्छ,’ भिडियो कन्फ्रेन्सको संयोजन गरेका साउदी राजा सलमानले भनेका थिए, ‘यो चुनौतीको सामना गर्नका लागि दुनियाँ हामीमाथि एकसाथ हुन र सहयोगको भरोसा गर्छ।’
सम्मेलनमा समूहका सदस्य राष्ट्रका अलवा आमन्त्रित देशहरु स्पेन, जोर्डन, सिंगापुर र स्वीट्जरल्याण्डको पनि सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।