काठमाडौं- कोरोना संक्रमणको जोखिमका कारण लक डाउन घोषणा भएसँगै वित्तीय कारोबार असहज बन्दै गएको छ। मानिसहरुले अत्यावश्यक कामका लागि समेत पैसा झिक्न कठिनाइ भोग्नुपरेको छ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिँदै वित्तीय सेवा सुचारु गर्न भनिसकेको छ। सरकारले पनि बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा भएकाले बन्द नहुने बताएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले पटकपटक यस्तो धारणा राख्दै आएका छन्।
तर, कतिपय स्थानीय तहले कोरोनाको जोखिम बढेको भन्दै बैंक तथा वित्तीय संस्था बन्द गर्न दिएका कारण समस्या उत्पन्न भएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको सेवा बन्द नहुने बताएका छन्।
'हामी असहज अवस्थामा पनि वित्तीय सेवा दिइरहेका छौँ,' अध्यक्ष दाहालले भने, 'केही गाउँपालिकाले बन्द गर्न लगाएको भन्ने हल्ला छ।' काठमाडौंमा राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनमा आउने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।