काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाज चार्टर गरेर चीनबाट मेडिकल सम्बन्धी सामान ल्याउने भएको छ।
निगमको जहाजले चीनबाट समान ल्याउने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार राती मात्रै निर्णय गरको हो।
यसअघि अप्रिल ३ अर्थात् चैत २१ गते सामान लिने निगमको वाइडबडी जहाज पठाउने तयारी भएको थियो। तर, मेडिकल सामानको अभाव हुन नदिने भन्दै सरकारले चैत १५ र २० गते गरी दुई उडानबाट सामान ल्याउन नेपाल वायुसेवा निगमको जहाज प्रयोग गर्ने निर्णय भएको मन्त्रालयका सह–सचिव सुरेश आर्चायले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ग्वान्जाओमा चैत १५ गते स्वास्थ्य मन्त्रालयको टोली लिएर पहिलो उडान शनिबार जानेछ भने अर्को उडान चैत २० मा हुने गरी निर्णय भएको आर्चायले जानकारी दिए।
चीनको गोन्जाओ जानका लागि आवश्यक हवाई रुट पर्ने ४ वटा देश भारत, बंगलादेश र म्यानमारको ओभरफ्लाई उडान अनुमति लिनुपर्ने हुन्छ। यसका लागि पनि मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ। आर्चायका अनुसार सबै प्रक्रिया पूरा गर्न ७२ घन्टाभन्दा बढी लाग्ने भए पनि फास्ट ट्रयाकबाट अनुमति ल्याएर शनिबार उडान गर्न लागिएको बताए। ‘पहल सुरु भइसकेको छ’, उनले भने ‘अनुमति पाएको अवस्था भोली शनिबार एउटा उडान हुन्छ। अर्को उडान २० गते गर्ने हो।’
स्वास्थ्य मन्त्रालयले पनि सोही अनुसारको विवरण मन्त्रालयमा पठाएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।