काठमाडौं- करिब ७ अर्बभन्दा धेरै रकम बैंक तथा वित्तीय संस्थामा हिनामिना भएकाले असुल हुनुपर्ने भन्दै ११ सय जना विरुद्ध दर्ता भएका ४ सय थान मुद्दा सर्वोच्च अदालतमा फैसला मिति कुरेर बसेका छन्।
२०६८ सालदेखि ‘बैकिङ कसुर’मा नेपाल राष्ट्र बैंकले दर्ता गरेका ती मुद्दा पटकपटक पेशी चढ्दै थन्कँदै गरेका छन्। सर्वसाधरणले गरेको बवचतलाई सञ्चालक, प्रबन्धक, कर्मचारी र व्यवस्थापकको मिलेमतोमा अनियमितता गरिएको थियो। राष्ट्र बैंकको अनुसन्धानमा बैंकहरुले जनताको निक्षेपमा दुरुपयोग गरेको देखेपछि मुद्दा दायर भएको थियो।
सर्वोच्चमा नेपाल बैंक लिमिटेड, हिमालयन बैंक, सम्झना फाइनान्स, नेपाल विकास बैंक, क्रिष्टल फाइनान्स, किष्ट बैंक, सिद्धार्थ बैंक, सिद्धार्थ विकास बैंक, गोरखा विकास बैंक, नेपाल शेयर मार्केट एन्ड फाइनान्स, सम्झना विकास बैंक लगायत अन्यका मुद्दा विचाराधीन अवस्थामा छन्।
नेपाल शेयर मार्केट एन्ड फाइनान्सविरुद्ध २०६९ मा नेपाल राष्ट्र बैंकले दुई वटा मुद्दा दर्ता गरेको थियो। गलत व्यक्तिलाई ऋण प्रवाह गरेको र बैंकको रकम सञ्चालक भई दुरुपयोग गरेको आरोपमा तत्कालीन प्रबन्धक र सञ्चालकहरु सिद्धार्थमान मास्के, विना तुलाधर, योगेन्द्रमान श्रेष्ठ र समिता मान्धरविरुद्ध बैंकिङ कसुर मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दा २०७२ मंसिर २४ देखि सर्वोच्चमा विचाराधीन छ। दुई पटक पेशी चढेका ती मुद्दा एकएक पटक पक्ष र विपक्षले स्थगित गराएका छन्।
तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले उनीहरुलाई दोषी ठहर गरेपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च आएका थिए।
पहिलो मुद्दामा ८८ ऋणीलाई कृत्रिम कागजात बनाई १ अर्ब ५७ करोड १३ लाख ७६ हजार रुपैयाँ प्रवाह गरेको, राष्ट्रिय बिमा संस्थानको २० करोड रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको दाबी गरिएको थियो। दोस्रो मुद्दामा विभिन्न व्यक्तिलाई नक्कली ऋणी बनाई १ अर्ब ५७ करोड १३ लाख ७६ हजार कर्जा प्रवाह गरेको दाबी गरिएको थियो।
नागरिक लगानी कोषको १६ करोड ५० लाख, माछापुच्छ्रे बैंकको ७ करोड ५० लाख, जनता बैंकको १० करोड, हिमाल हाइड्रोको ९० लाख, नेपाली सेनाको ४ करोड, आफ्नै नाममा रहेको डेस्टर्सको ९ करोड ६९ लाख ५३ हजार गरी २० करोड रुपैयाँ अपचलन गरेको आरोपपत्रमा उल्लेख थियो।
नेपाल बैंकका तत्कालीन अध्यक्ष शेरबहादुर केसी लगायत १ सय १४ जनाविरुद्ध नेपाल बैंक घोटाला काण्डमा दोषी ठहर भइसकेका छन्। केही विपक्षीहरुको उक्त मुद्दा हाल पनि सर्वोच्चमा विचाराधीन रहेको छ। २०५० सालमै बैंकको २ करोडभन्दा धेरै रकम ठगी गरेको आरोपमा उनीहरु विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो।
नेपाल श्रीलंका मर्चेन्ट बैकिङ एन्ड फाइनान्सका रुवी जोशीसहित २९ करोड ७८ लाख ६२ हजार ८ सय हिनामिनाको मुद्दा पाटनबाट सर्वोच्च आइपुगेको छ। हिमालयन बैंकमा कर्मचारीले नै बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोप दर्ता भएको बैंकिङ कसुरको मुद्दा समेत हाल सर्वोच्चमा विचाराधीन छ।
बैकिङ कसुरका चर्चित मुद्दाहरु र दाबी बिगो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।