काठमाडौं– चीनले १४ जना मेडिकल विशेषज्ञलाई कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपको इटालीमा पठाएको छ। पूर्वी चीनको फुजियान प्रान्तबाट विशेषज्ञ डाक्टरसहितकाे टाेली चार्टर विमानबाट बुधबार बिहान इटाली प्रस्थान गरेको सिन्ह्वाले जनाएको छ।
फुजियान प्रान्तका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरु इटाली गएको जनाइएको छ। श्वास प्रश्वास, सघन उपचार, संक्रामक रोग, संक्रामक रोग नियन्त्रक, परम्परागत चिनियाँ पद्धतिलगायका क्षेत्रमा विशेषज्ञ इटाली प्रस्थान गरेका छन्। विशेषज्ञको टोलीमा नर्ससमेत इटाली गएका छन्।
चीनबाट गएको विशेषज्ञ टोलीले इटालीको टस्क्यानी क्षेत्रमा खटिने जनाइएको छ। कोरोना भाइरसको संक्रमणमा सहयोग पुर्याउन गएको टोलीले आठ टन मेडिकल उपकरणसमेत इटाली लगेकाे छ। मेडिकल उपकरणमा ३० भेन्टिलेटर, २० मेडिकल मनिटर, ३० हजार थान मेडिकल मास्क, २० हजार थान एन ९५ मास्क र तीन हजार थान फेसशिल्ड रहेको छ।
यसअघि चिनले दुई पटक विज्ञ चिकित्सकसहित मेडिकल उपकरण इटाली पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।