काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापावीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। कमल थापाले एक राष्ट्रिय दैनिक पत्रिकामा ‘राप्रपा एकीकरणमा कुनै देशी– विदेशी शक्तिको प्रत्यक्ष एवं परोक्ष भूमिका छैन,’ नामक लेख लेखेपछि दुई नेताबीच ट्वीटरमा नोकझोंक चलेको हो।
थापाले लेखेको लेख ट्वीटरमा सेयर गर्दै भट्टराईले राप्रपा एकीकरणमा देशी–विदेशी शक्तिको हात छैन भन्ने विषयमा विश्वास गर्ने आधार नभएको उल्लेख गरेका छन्।
‘यो त भट्टीमा पसेर दूध पिएर आएको भने जस्तो भयो कि सहपाठी मित्र,’ बाबुरामको कटाक्ष छ। उनले थापाको विषयमा उल्लेख गरेकोमा माफी समेत मागेका छन्। जवाफमा थापाले ठट्यौलो शैलीमा उत्तर फर्काएका छन्, 'तपाईंको ह्याङओभर पनि कहिल्यै नजाने भो के खानुहुन्छ कुन्नी?’
राजनीतिक लाइनको विषयलाई लिएर थापा र भट्टराई एकअर्कालाई छेडखानी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।