काठमाडौं- विश्वमा काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि यसबाट सुरक्षित रहन नेपालले पनि विभिन्न सावधानीहरु अपनाउन थालेकाे छ। यसैक्रममा आइतबार राति ११ बजेर ५९ मिनेटपछि कुनै पनि एयरलाइन्सले यात्रु बोकेर नेपाल आउन नपाउने भएका छन्। यो नियम चैत १८ गते राति ११ बजेर ५९ मिनेटसम्म लागू हुने छ।
तर, फाइटर फ्लाइट, कार्गो उडान, आपतकालि उडानलगायतका उडान भने रोकिने छैनन्। यस्तो उडानका लागि पनि अनुमति लिनुपर्ने हुन्छ।
यात्रु ल्याउन नपाए पनि खाली जहाज (चालक दलका सदस्य) मात्र सवार जहाज भने नेपाल आउन पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। ‘जुनसुकै गन्तव्यबाट खाली जहाज आएर नेपालबाट यात्रु लैजान पाउँछन्,’ पोखरेलले भने, ‘यात्रु बोकेर भने नेपाल आउन जहाजले अवतरण अनुमति पाउने छैनन्।’
यसको अर्थ जापानबाट कुनै एउटा एयरलाइन्सको जहाज विना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन पाउँछ। तर, जहाजले यात्रु ल्याउन पाउँदैन।
नेपालबाट उड्दा भने जहाजले यात्रु लैजान पाउने छ। तर, यसरी हुने उडानमा नेपालीलाई यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ। कुनै एयरलाइन्सले नेपाली यात्रु लैजाने र उताबाट डिपोर्ट भएको अवस्थामा यात्रु नै बिचल्लीमा पर्ने हुँदा सचेत भएर मात्रै यात्रा गर्न प्राधिकरणले सबै नेपालीलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।