काठमाडौं- संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषयहरुको कार्यान्वयन गर्न अपिल गरेका छन्।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको खतरा बढ्दै गएको अवस्थामा सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न सांसदहरुले सम्पूर्ण नागरिकहरुलाई अपिल गरेका हुन्। शनिबार काठमाडौंको मण्डीखाटारमा एक सांसदको घरमा भएको सांसदहरुको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।
भेलापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेका कदमहरु, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण भएमा नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको बताए। उनले सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्नेमा समेत जोड दिए।
उनले भने‚ ‘कोरोना भाइरस र यसको असरका बारेमा सरकारले चालेका कदमहरुको बारेमा जनतामा जगाउनुपर्ने जनचेतना‚ यसलाई रोकथाम गर्ने उपाय, रोग लागिसकेपछि नियन्त्रण गर्नका लागि उपचारको प्रबन्धलगायतका बारेमा छलफल गर्यौं।’ उनले जनताका समस्याहरु र आर्थिक क्षेत्रमा परेको असरको विषयमा सरकारलाई जानकारी गराउने विषयमा समेत छलफल भएको बताए।
नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको काममा अझ केही प्रभावकारी बनाउन आग्रह गर्ने विषयमा छलफल भएको बताए। उनले नेपाल-भारत सिमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको बताए। उनले भने‚ ‘अस्पतालका लागि तयारी गर्नुपर्ने कुराहरुको सन्दर्भमा पनि स्वास्थ्य मन्त्रालयले गरेका निर्णयहरु तत्काल कार्यान्वयनमा जाओस्, कार्यान्वयन गर्न केही समय लाग्ने हो भने भयावह स्थिति आउन सक्ने विषयमा छलफल भयो।’
छलफलमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्त बुझ्दो नभएको बताएका थिए। नागरिकमाथि जनचेतना फैलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएको र राजनीतिक दलहरुले उनीहरुलाई सघाउने विषयमा समेत छलफल भएको थियो। त्यस्तै सांसदहरुले कोरोनाको संक्रमणको जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखि नै सम्बोधन गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।