काठमाडौं- निजी हवाई सेवा सञ्चाकलहरुले आन्तरिक उडानको हवाई भाडामा केही पुनर्विचार गर्ने प्रतिबद्धता गरेका छन्। सञ्चालकहरुसँग शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसँग भएको छलफलमा व्यवसायीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
आन्तरिक उडानमा यात्रुको चाप बढेसँगै सेवा प्रदायक एयरलाइन्सले सरकारले नै स्वीकृत गरेको महंगो भाडामा मात्रै टिकट बिक्री गरेका थिए।
केही दिनअघिसम्म हवाई भाडमा ६० प्रतिशतसम्म कम भएपनि शुक्रबारदेखि हवाई भाडामा वायुसेवा कम्पनीहरुले सबैभन्दा मंहगो भाडामा टिकट बिक्री गरेको थियो।
आन्तरिक वायु सेवा सञ्चालकहरुसँग पछिल्लो समय हवाई भाडाका विषयमा आएका गुनासाहरुको सन्दर्भमा मन्त्री भट्टराईले छलफल गरेका थिए।
हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम सीमाका २ वटा स्ल्यावका हवाई भाडा हटाई सोभन्दा कमको भाडा दरलाई अधिकतम सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्न मन्त्रीले अनुरोध गरेका थिए। मन्त्रीको आग्रहलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिँदै तत्काल भाडा दर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।