काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताएकी थिइन्।
भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु लामो समयदेखि रहेको र त्यो दुई देशबीच आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन्।
‘हिजोदेखी थाती रहेका केही विषयहरु छन्,’ मन्त्री आर्यालको भनाइ छ, ‘जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्, ती कुराहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस्।’
भेटमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्न सक्ने बताएका थिए। यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताए।
‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्,’ राजदूत क्वात्राले भने‚ ‘दुई देशबीचमा त्यस्तो ठूलो कुनै समस्या कारण छैन। रहेका विषयहरु आपसमा बसेर समाधान गर्न सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।