काठमाडौं- चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी आह्वान भएकोमा पनि उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी नपरेको पाइएको छ।
पाण्डेविरुद्ध १० दिनको समय दिएर संसदीय विशेष सुनुवाई समितिले २८ फागुनमा उजुरी आह्वान गरेको थियो।
समिति सचिवालयका अनुसार पाण्डेविरुद्ध अहिलेसम्म कुनै पनि उजुरी परेको छैन। शनिबार उजुरी आह्वानको १० दिन पुग्ने भए पनि त्यस दिन बिदा हुने भएकाले आइतबारसम्म उजुरी आह्वानको समय थपिने सचिवालयले जनाएको छ।
पाण्डे पूर्व परराष्ट्रमन्त्री पनि भएकाले उनीविरुद्ध कुनै उजुरी परेको हुन नसक्ने सचिवालय स्रोतको भनाइ छ।
निर्देशिका विपरीत राजदूत खाली
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउँदै उनको ठाउँमा पाण्डेको नाम सिफरिस गरेको थियो।
सरकारले १५ दिनको समय दिएर पौड्याललाई फिर्ता बोलाएपछि उनी बुधबार नेपाल फर्किएका छन्। उनी नेपाल फर्किएसँगै चीनका लागि राजदूत पद खाली भएको हो।
तर, परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिसम्बन्धी बनाएको निर्देशिकामा राजदूत पद रिक्त हुनुभन्दा तीन महिनाअघि नै नियुक्तिसम्बन्धी प्रक्रिया थालनी गर्ने उल्लेख छ।
सरकार आफैंले बनाएको निर्देशिकाको ख्याल नगरी हठात राजदूतलाई फिर्ता बोलाएपछि चीनजस्तो महत्वपूर्ण छिमेकमा राजदूत खाली भएको हो।
पाण्डेविरुद्धको उजुरी आह्वानको समय सकिनै लागे पनि संसदीय सुनुवाई भने कहिले हुन्छ टुंगो छैन। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण संसदीय समिति बैठकहरु रोकिरहेको सन्दर्भमा सुनुवाई समितिको बैठक पनि तत्काल बस्न सम्भव देखिदैन।
यसले लामो समय चीनमा नेपाली राजदूत नरहने देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।