काठमाडौं- बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र सिध्याएको र अब नेकपा पनि सिध्याउने आरोप लगाएका छन्।
एसइई पहिल्यै रोक्नुपर्ने उनको मत छ। बिहीबारदेखि सुरु हुने भनिएको एसइई बुधबार साँझमात्रै स्थगित भएको थियो। 'यति कुरो केही दिनअघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे? कति खर्च बच्थ्यो?', भट्टराईको प्रश्न छ।
उनले नारायणकाजी श्रेष्ठ गुटलाई बुझिने गरी काजी गुट भनेर सम्बोधन गरेका छन्। लेखेका छन्‚ 'यो काजी गुटको काम सँधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने; गुट चलाउने हो! माके सिध्यायो! अब नेकपा सिध्याउँछ!'
श्रेष्ठ समूहका गिरिराजमणि पटक पटक स्वास्थ्य र शिक्षामन्त्री भएका छन्। उनी २०६२/६३ सालको जनआन्दोलनपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरीम सरकारमा स्वास्थ्यमन्त्री भएका थिए।
संविधानसभाको पहिलो चुनावपछि गठन गरिएको प्रचण्ड नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री भएका थिए। त्यस्तै, संविधान जारी भएपछि गठित केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका थिए। शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा उनी पुनः स्वास्थ्यमन्त्री भएका थिए। अहिलेको सरकारमा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।