काठमाडौं–आख्यानकार राजेन्द्र पराजुलीको संस्मरण ‘कोटेश्वरको केटो’ बजारमा आएको छ। फिनिक्स बुक्सले प्रकाशन गरेको यो पुस्तकमा २५ वटा संस्मरण छन्।
कोटेश्वर, अनुहारहरु, अनुभूति सुफियाना र अक्षरहरुसँग गरी चार भागमा बाँडिएको यो पुस्तकमा पराजुलीले पत्रकारिताको अनुभवका साथै आफ्नो बाल्यकाललाई समेत उनेका छन्। आफूले संगत गरेका केही पात्रका अतिरिक्त समसामयिक विषयको पनि उनले स्मरण गरेका छन्।
काठमाडौंको पूर्वी भेग कोटेश्वरमा जन्मिएका उनले आजभन्दा साढे चार दशकअघिको कोटेश्वर, वाग्मती नदी, काठमाडौंको संस्कृति र काँठे जनजीवनको दृश्यात्मक कथा पस्केका छन्। त्यसैले यसलाई वैकल्पिक इतिहासका रुपमा समेत लिन सकिन्छ।
जीवनका आरोह–अवरोह, सङ्घर्ष र सफलता–असफलतालाई कतै काव्यिक त कतै समाचारीय शैलीमा उनले लेखेका छन्। केही संस्मरण रिपोर्ताज शैलीमा पनि छन्। काठमाडौंमा जन्मँदैमा राज्यप्रदत्त सुविधा सबैका भागमा पुगेका हुँदैनन् । कोटेश्वरका कतिपय वासिन्दाले राज्यपीडा भोग्नुपरेको दृष्टान्त छ पुस्तकमा ।
कहिले त्रिभुवन विमानस्थल विस्तार त कहिले सडक निर्माणका नाममा उठिबास सहनुपरेको छ कोटेश्वरले । राज्य कसरी आफ्नो थातथलोप्रति कठोर बनेको छ भन्ने अनुभूतिले पञ्चायतकालको निरङ्कुश समयको सम्झना गराउँछ । अभाव, गरिबी, असुविधा र अव्यवस्थाका कारण कतिपय काँठ क्षेत्रका वासिन्दा राजधानीबाट पलायन भएको कथा पनि ‘कोटेश्वरको केटो’मा पढ्न पाइन्छ।
पुस्तकमा ज्यादा ‘कन्फेसन’ रहेकाले पाठकले यसलाई रुचाउने प्रकाशन संस्था फिनिक्सको विश्वास रहेको छ । अहिलेको पुस्ता र काठमाडौंको विगतलाई बुझ्नका लागि पुस्तक सहयोगी हुने फिनिक्सले बताएको छ।
लेखक पराजुलीको यो आठौं कृति हो । अघिल्लो वर्षको पूर्वाद्र्धमा उनको कथासङ्ग्रह ‘अघोरी’ बजारमा आएको थियो। लेखक पराजुलीका अनुसार उनले २०६० सालको पूर्वाद्र्धदेखि संस्मरण लेख्न थालेको र यो पुस्तकमा डेढ दशकको अवधिमा लेखिएका स्मृति समावेश छन्। २०७ पृष्ठको यो पुस्तकको मूल्य रु ३५० तोकिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।