नाम र राजधानीका सम्बन्धमा मतदानका लागि लामबद्ध प्रदेश २ मुख्यमन्त्री लगायत। तस्बिर : रासस
काठमाडौं- प्रदेश २ को नाम र राजधानी मतदानबाट टुंगो लगाउन मंगलबार बिहान ८ बजेका लागि मिति तय भयो। सहमतिबाटै नाम र राजधानी टुंगो लगाउन दलहरू आन्तरिक छलफलमा जुटे। तर, दलबीच सहमति जुट्न नसकेपछि १० बजे प्रदेशसभा बैठक बोलाइयो। मतदान भयो। प्रदेशको नामका विषयमा चार पटक र राजधानीका सम्बन्धमा तीन पटक मतदान भएको थियो।
मंगलबार राती १२ बजे प्रदेशको नाम र राजधानीका सम्बन्धमा भएका सात पटकका मतदानको नतिजा आयो। प्रदेशको राजधानी जनकपुर बनाउने सम्बन्धमा दलहरू लगभग सहमतिमा पुगिसकेका थिए तर प्रदेशको नामका विषयमा सहमत नहुने नै स्थिति थियो। तर, राजधानी जनकपुर राख्न सबै दलहरू सर्वसम्मत भएका भएपनि अन्तमा जनकपुरको पक्षमा ५२ र विपक्षमा पनि ५२ नै मत पर्यो। तीन मत बदर भए। प्रस्ताव अस्वीकृत भयो।
यस्तै राजधानीको स्थानकै विषयमा अर्को पनि प्रस्ताव दर्ता भएको थियो। वीरगञ्जदेखि सिम्रौनगढसम्मको क्षेत्रको प्रस्तावका पक्षमा ३७ मत र विपक्षमा ६९ परेको थियो। यो प्रस्तावका लागि मतदानमा एक जना सहभागी भएनन्। यो प्रस्तावका पक्षमा पनि आवश्यक मत नपुगेकाले अस्वीकृत भयो।
यसैगरी, अर्को प्रस्ताव वीरगञ्जका पक्षमा ३३ र विपक्षमा ७४ मत पर्यो। यो प्रस्तावका पक्षमा पनि आवश्यक मत नपुगेकाले अस्वीकृत भयो। नाम र राजधानीका विषयमा प्रदेशसभाका सदस्यको दुई तिहाइ मत प्राप्त गर्नैपर्नै संवैधानिक व्यवस्था छ। हाल प्रदेशसभामा १ सय ७ सदस्य छन्। दुई तिहाइ मत पुग्न कम्तीमा ७२ मत पुग्नै पर्छ। तर राजधानी र नामका विषयमा भएको मतदानमा कुनै पनि प्रस्तावका पक्षमा ७२ मत नपुगेपछि प्रदेशसभामा दर्ता भएका सबै प्रस्ताव अस्वीकृत भए।
भोटको राजनीति अनिर्णयको कारक
समाजवादी र राजपा आफूहरूले राखेको प्रस्तावित नाम 'मधेश प्रदेश' स्वीकृत भएमा राजधानी जनकपुर मान्न सहमत भएका थिए। तर, मधेश प्रदेशको पक्षमा बहुमत पुग्न नसकेपछि अस्वीकृत भयो। अन्तमा प्रदेश राजधानी जनकपुरको विपक्षमा समाजवादी र राजपाले जनकपुरको विपक्षमा मतदान गरे।
मुख्यमन्त्री लालबाबु राउत पर्सा, सभामुख सरोज यादव र आन्तरिक मामिला मन्त्री जितेन्द्र सोनल बाराकै भएकाले जनकपुर राजधानी नभए वीरगञ्ज हुनुपर्छ भन्ने पक्षमा थिए। प्रदेशको नाम र राजधानी आफूले भनेकै नहुने भएपछि राजधानी छोडेर प्रदेशको नाम आफ्नो पक्ष पार्ने मनस्थितिमा उनीहरू थिए।
मधेश प्रदेशका पक्षमा कांग्रेस र नेकपाको एउटा समूहले मतदान गर्छ कि भन्ने आशा समाजवादी र राजपाले गरेका थिए। नेकपाले प्रस्ताव गरेको नाम जानकी प्रदेश अस्वीकृत भएपछि मधेश प्रदेशका पक्षमा मतदान हुँदा नेकपा संसदीय दलको बैठकमा लफडा भयो। कतै नेकपाकै सांसदले मधेश प्रदेशको पक्षमा मतदान गर्छन् कि भन्नेमा नेकपा सशंकित भएपछि पार्टीको झन्डा नै छुवाएर (कसम खुवाएकै शैलीमा) मतदान गर्न लगाएको एक प्रदेश सांसदले बताए। यति कसम नै खुवाएपछि नेकपा सांसदले पनि मधेश प्रदेशको विपक्षमै मत हाले। अन्तमा समाजवादीले प्रस्ताव गरेको मधेश प्रदेशको पक्षमा आवश्यक बहुमत पुगेन।
प्रदेशको नाम आफ्नो पक्षमा नभएपछि समाजवादी-राजपा गठबन्धनले राजधानीमा सर्वसम्मत निर्णयबाट पछाडि हटेर जनकपुर राजधानी राख्ने विपक्षमा मतदान गरेको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आरोप लगाए। ‘जनकपुर राजधानी गराउने पक्षमा समाजवादी र राजपा दुवै दलले सर्वसम्वत निर्णय गरेका थिए,’ मण्डलले भने, ‘अन्तमा समाजवादी राजपा लगायत दलहरूले जनकपुर राजधानीको विपक्षमा मतदान गरे।’
प्रदेशको नाम मधेश प्रदेश छोड्ने र राजधानी जनकपुर पनि छोड्दा समाजवादी-राजपालाई भोटको राजनीतिमा असर पर्ने देखिएपछि नाम र राजधानी अस्वीकृत हुन पुगेको हो। समाजवादी र राजपाले मधेश आन्दोलनका लागि लामो समयदेखि संघर्ष गर्दै आएकाले प्रदेशको नाममा 'मधेश' शब्द राख्न नसकेपछि भोटको राजनीतिमा असर पर्ने देखिएकाले राजधानी जनकपुरको सर्वसम्मत निर्णयबाट पछि हटेका थिए। मधेश आन्दोलनपछि समाजवादी र राजपाले मधेश शब्दको वकालत गर्दै आएका छन्।
समाजवादी र राजपाद्वारा प्रस्तावित नाम 'मधेश प्रदेश'का पक्षमा ६० मत आयो। नेकपाको प्रस्ताव जानकीका पक्षमा ३७ मत, कांग्रेसको प्रस्ताव 'मिथिला भोजपुरा'का पक्षमा २८ मत र कांग्रेसकै सांसद नागेन्द्रप्रसाद यादवले प्रस्ताव गरेको मध्य प्रदेशका पक्षमा ४२ मत आएको थियो।
प्रदेशको राजधानी र नाम संसदबाटै प्रक्रिया सुरु भएकाले संसदबाटै टुंगो लगाउने प्रदेश नम्बर दुईका सभामुख सरोज यादवले बताए। ‘यो अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुंगो लाग्न सकेन। अर्को अधिवेशनबाट टुंगो लगाउँछौं,’ सभामुख यादवले नेपाल लाइसँग भने, ‘दलहरूले जति सक्दो छिटो सहमति गर्छन् त्यति नै छिटो प्रदेशको नाम र राजधानी टुंगो लाग्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।