जनकपुरधाम- प्रदेश २ को नामाकरण गर्नका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ। विभिन्न राजनीतिक दलले गरेका प्रस्तावमा कुनै पनि दलको प्रस्तावका पक्षमा मत पुग्न सकेन।
संवैधानिक व्यवस्था अनुसार तत्काल कायम भएका प्रदेशसभाका सांसदको दुई तिहाइ हुन आवश्यक हुन्छ। हाल प्रदेश सभामा १ सय ७ सदस्य छन्।
प्रदेशको नाम 'मधेश' राख्नका लागि सत्तारुढ दल संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको गठबन्धनले पेस गरेको प्रस्तावका पक्षमा ६० र विपक्षमा ४६ मत परेको छ। प्रदेशको नामाकरणका लागि चाहिने ७२ मतका लागि १२ मत कम मात्र सो गठबन्धनले प्राप्त गरेको थियो। एक मत भने बदर भएको थियो।
यसैगरी, नेकपाको 'जानकी' प्रदेश नामाकरण गर्ने पक्षमा ३७ र विपक्ष ७० मत परेको छ। कांग्रेसको 'मिथिला भोजपुरा'का पक्षमा २८ मत खसेको छ भने विपक्ष ७९ मत परेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
आवश्यक ७२ मत कुनै पनि दलले प्रस्ताव गरेको नाममा पुग्न नसकेपछि प्रदेशले नाम पाउन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।