काठमाडौं- कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार (बिटक्वाइन) मुद्दाको पेशी साढे २ वर्षदेखि सरेको सर्यै छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ४ करोडभन्दा बढी बिगो माग दाबी गर्दै सरकारी वकिलमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको साढे दुई वर्ष पुग्न लाग्दासमेत सो मुद्दाको छिनोफानो हुन सकेको छैन।
मुद्दा २०७४ कात्तिक १२ मा दर्ता भएको थियो। त्यसयताका २८ महिना २० दिनमा विभिन्न कारण देखाउँदै १५ पटकसम्म पेशी सरेको छ।
२०७४ साउन २९ गते नेपाल राष्ट्र बैंकले ‘बिटक्वाइन कारोबार गैरकानुनी रहेको बारे’ सार्वजनिक सूचना जारी गरेको थियो। जसमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने)ऐन, २०१९ बमोजिम नेपालमा बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यताप्राप्त नभएकाले बिटक्वाइनसम्बन्धी कारोबार नेपालमा पूर्ण रुपमा गैरकानुनी रहेको उल्लेख थियो।
राष्ट्र बैंकले सूचना प्रकाशन गरेको केही महिनापछि सिआइबीले २०७४ असोज १८ र १९ गते पहिलोपटक काठमाडौं र चितवनमा एकैपटक बिटक्वाइनविरुद्ध अपरेशन गरेको थियो। जसक्रममा ७ जना पक्राउ परेका थिए।
बिटक्वाइन कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रशान्तप्रताप शाहले दोलखाको तामाकोसी गाउँपालिका-५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घर भाडामा लिई बिटक्वाइन माइनिङको काम गर्ने गरेको खुलेपछि असोज ६ गते छापा मारेर सिआइबीले ठूलो मात्रामा सामानहरु बरामद गरेको थियो।
सिआइबीको अपरेशनमा विभिन्न मितिमा पक्राउ परेकामध्ये १० जनाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मुद्दा चलेको थियो। तर सो मुद्दामा अहिलेसम्म सुनुवाइ नै हुन सकेको छैन।
मुद्दा दायर भएपछि पहिलो पटक २०७४ फागुन २१ गते पेशी तोकिएको थियो। न्यायाधीश शिवप्रसाद खनालको इजलाशमा पेशी परे पनि स्थगित भएको थियो।
त्यसपछि २०७४ चैत ४ गतेलाई पेशी तोकिएकोमा वतन खुलाउने आदेश दिइएको थियो। त्यसबेला पनि न्यायाधीश खनालकै इजालासमा पेशी थियो। त्यसपछिका लगातार ८ वटा पेशी भने न्यायाधीश मोहनराज भट्टराईको इजलासमा परेको थियो। बकपत्र गराउने, साक्षी बुझ्ने र प्रमाण बुझने आदेश गरी चार वटा आदेश भएका थिए भने ४ पटक पेशी स्थगित गरिएको थियो।
सरकारी वकिल कार्यालयबाट २ पटक, प्रतिवादीका वकिलबाट १ पटक र १ पटक सार्वजनिक बिदाका कारण पेशी स्थगित भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।
त्यसपछिका ५ वटा पेशी भने न्यायाधीश बाबुराम सुवेदीको इजलासमा परेको थियो। जसमा प्रतिवादीको कानुन व्यवसायीबाट र सरकारी वकिल कार्यालयबाट गरी २ पटक स्थगित गराइयो भने प्रमाण झिकाउने र बहस नोट पेश गर्न लगाउने भन्दै २ पटक आदेश भएको छ।
प्रतिवादीहरुले अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर विदेशी विनिमय कारोबार गर्ने गरेका थिए।
अन्तिम पटक गत फागुन २७ गतेलाई चढेको पेशी त्यसको १५ दिनपछि पुनः पेशी चढ्ने छ। तर पनि अहिले नै यो मुद्दाको किनारा लाग्ने संकेत भने देखिएको छैन।
को-को छन् प्रतिवादी ?
सर्वसाधारण व्यक्तिदेखि प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्यसहित १० जनालाई प्रतिवादी बनाउँदै बिटक्वाइनको मुद्दा दायर भएको थियो।
जसमा राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य दमन बस्नेत, सिन्धुलीको कल्पवृक्ष–४ घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीको खन–७ का ३४ वर्षीय माधव खनाल, सोही ठाउँका सञ्जय खनाल, काठमाडौं–४ भाटभटेनीका २५ वर्षीय प्रशान्तप्रताप शाह छन्।
त्यस्तै नुवाकोट बेलकोट–५ की २४ वर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोकको हेलम्बु–७ का मिङमार तामाङ, रुपन्देही उपमहानगरपालिका–११ का मनिषकुमार गिरी, ताप्लेजुङका २१ वर्षीय विश्वविक्रम राई र स्याङ्जाको बिरुवा–१ का सौगातकुमार वाग्लेविरुद्ध मुद्दा दायर भएको थियो।
मुद्दा दायर भएका यी १० जनाको भूमिका भने फरक थियो। प्रशान्तप्रताप शाहले बिटक्वाइन कारोबारको क्रममा आफूले बिटएक्सनेपाल डटकम वेबसाइड खोली बिटक्वाइन सट्टापट्टाको कारोबार गर्ने गरेको बयान दिएका थिए। मनिषकुमार गिरीले आफ्नो फेसबुक पेजमा बिटक्वाइन प्रचार गर्ने गरेको, प्रशान्तले बिटक्वाइनको माइनिङ गर्न दोलखामा उपकरण जडान गरेका पाइएकाले उनले बिटक्वाइन माइनिङ गर्ने गरेको प्रष्ट हुन्छ।
माधव खनालले ज्ञानप्रसाद पौडेलबाट ग्राभिटी क्वाइन खरिद गर्ने गरेको, बिन्दा ढकालले वालेटमा ग्राभिटी क्वाइन जम्मा गरेको अनुसन्धानबाट खुलेको थियो। त्यस्तै दमन बस्नेतले प्रशान्तबाट बिट क्वाइनसम्बन्धी कारोबारको जानकारी लिएर बिटक्वाइन खरिद गरी कारोबार गरेको देखिएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ।
४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर भएको थियो। बिगोसँगै ऐनको दफा ९६ (१) बमोजिम सजायको माग गरिएको थियो। अभियोग प्रमाणित भएमा दफा ९६ (१) अनुसार उनीहरुलाई बढीमा ७ वर्षसम्म कैद हुन सक्ने प्रावधान छ।
उक्त बिटक्वाइन बस्नेतले आफ्ना भतिजा सौगात वाग्लेको मोबाइलमा राखेका थिए। ज्ञानप्रसाद पौडेलले प्रशान्त र अभिनाश साहसँग पटक–पटक बिटक्वाइन खरिद गरेको अनुसन्धानमा खुलेको थियो। मिङमार तामाङसँग १३ वटा क्रिप्टोकरेन्सी वालेट रहेको पाइएको थियो। सौगातकुमार वाग्ले र दमन बस्नेतले आफ्नो मोबाइलमा कोपे एप्स राखी त्यसमा बिटक्वाइन जम्मा गर्ने गरेका थिए।
त्यस्तै अर्का प्रतिवादी विश्वविक्रम राईले ड्रिम क्वेस्ट इन्भेष्टमेन्ट प्रालि कम्पनीको नाममा बैकमा खाता खालेर बिटक्वाइनको कारोबार वापतको रकम जम्मा गर्ने गरेका थिए।
यसरी प्रतिवादीहरुले अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर विदेशी विनिमय कारोबार गर्ने गरेका थिए।
नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा ९५ मा राष्ट्र बैंकबाट अनुमति नलिई बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी खरिद-बिक्री कसैले गरेर विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा यस ऐन बमोजिमको कसुर ठहरिने उल्लेख छ। यी प्रतिवादीहरुले दफा ९५ अनुसारको कसुर गरेको भन्दै मुद्दा दायर भएको थियो।
सिआइबीले प्रतिवादी प्रशान्तको हकमा उनले १ करोड १५ लाख ४७ हजार ३ सय ८७ रुपैयाँ बराबरको बिटक्वाइन कारोबार गरेको देखिएकाले त्यसबारेको बिगो माग दाबी गरेको थियो।
ज्ञानप्रसादको हकमा २ करोड २१ लाख ३६ हजार ९ सय ७० रुपैयाँ, मिङमार तामाङको हकमा ५९ लाख १६ हजार ५३ रुपैयाँ, मनिषकुमारसँग ३ लाख ३६ हजार ३ सय ९७ रुपैयाँ, बिन्दा ढकाललाई २ लाख ६२ हजार ७ सय ५० रुपैयाँ, माधव खनाल र सञ्जय खनाललाई ५२ हजार ५ सय ५० रुपैयाँ, दमन बस्नेत र सौगातकुमार वाग्लेलाई ४ लाख ५० हजार ४ सय ८९ र विश्वविक्रम राईको हकमा २ लाख ६४ हजार गरी जम्मा ४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर भएको थियो।
उनीहरुलाई उक्त बिगोसँगै ऐनको दफा ९६ (१) बमोजिम सजायको माग गरिएको थियो। अभियोग प्रमाणित भएमा दफा ९६ (१) अनुसार उनीहरुलाई बढीमा ७ वर्षसम्म कैद हुन सक्ने प्रावधान छ।
इन्टरनेटमार्फत विट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ।
त्यसबेला अदालतमा उपस्थित भएका उनीहरु भने ४२ लाख धरौटी तिरेर जिल्ला अदालत काठमाडौंबाट तारेखमा रिहा भएका थिए। उनीहरुको मुद्दाको छिनोफानो हुन भने बाँकी नै छ।
के हो बिटक्वाइन?
ओपन सोर्स सफ्टवेयरको रुपमा जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा बिटक्वाइनको प्रयोग सुरु गरेका थिए। सन् २००९ मा १० सेन्टबाट सुरु भएको बिट क्वाइनको कारोबार अहिले ४ लाख ४३ हजारसम्म पुगेको छ। यो विश्वव्यापी डिजिटल भुक्तानी प्रणली हो।
विश्वमा अहिले ११ सय भन्दा बढी क्रिप्टाेकरेन्सी प्रचलनमा रहेका छन्। यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोवार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन। यसको कारोवारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ।
विश्वमा अहिले बिटक्वाइनमा लगानी बढिरहेको छ। बिटक्वाइन एक प्रकारको भर्चुअल पैसा हो। यसको इलोक्ट्रोनिक कारोबारमात्रै गर्न मिल्छ। डलर, युरो, भारु वा नेपाली नोटजस्तो कागजी रुपमा छापिँदैन। तर कम्युटर सफट्वेयरमार्फत् विश्वभरका मान्छले यसको कारोबार गर्न सक्छन्।
इन्टरनेटमार्फत विट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ।
बिटक्वाइन सेयरजस्तै गरी रकम बढ्ने, पहिचान तथा रकमको स्रोत खुलाउन नपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।