काठमाडौं– सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) नरोक्ने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपिल जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको भन्दै परिक्षा नरोकिने बताए। ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुँदैछन्। यसका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।
पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको भएकाले ढुक्क हुन पनि मन्त्री पोखरेलले आग्रह गरेका छन्। ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ‚’ मन्त्रीको अपिलमा भनिएको छ‚ ‘विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरिन्छ।’ साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई उनले अपिल गरेका छन्।
अरु परीक्षा र भर्ना रोक्न आग्रह
मन्त्री पोखरेलले नीजि विद्यालयहरुको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिने एक दिनअघि रोक्न अपिल गरेका छन्। एसइई परीक्षा सुरु हुने दिनको अघिल्लो दिन अर्थात् चैत ५ गते परिक्षा सकिँदैछ।
‘मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ’ अपिलमा भनिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।