काठमाडौं- सार्वजनिक यातायातको क्षेत्र सबैभन्दा बढी मानिसको मुभमेन्ट हुने ठाउँ मध्येमा पर्छ। विश्वभर कोरोनाको संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ। विश्व स्वास्थ्य संघठनले नेपाल उच्च जोखिममा रहेको बताइसकेको छ। कोरोना संक्रमित मुलुक चीन, कोरिया, भारतलगायत मुलुकबाट अहिलेपनि निर्वाध रुपमा हवाइ जडान जारी रहेको छ।
यस्तो अवस्थामा सबैभन्दा बढी जोखिम रहेको सार्वजनिक यातायातको क्षेत्रमा के गर्ने भन्ने विषयमा सरकार अनभिज्ञजस्तै देखिएको छ। हालसम्म सरकारले कोरोना देखिए सार्वजनिक यातायातमा के गर्ने भन्ने विषयमा कुनै छलफल नै नगरेको व्यवसायीहरुले बताएका छन्।
भौतिक पूवर्धार तथा यातायात मन्त्रालयले छलफल गरेर स्वास्थ मन्त्रालयसँगको समन्वयमा काम गरिरहेको मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए। ‘स्वास्थ्य मन्त्रालयले अध्ययन गरेर आवश्यक सफिरिस गर्ने र त्यहीअनुसार अघि बढ्यो तयारी गरिएको छ,’ प्रधानले नेपाल लाइभसँग भने।
व्यवसायीले आफ्नोतर्फबाट गर्न सक्ने सवारीसाधन सरसफाइदेखि सवारी चालक तथा सहचालकलाई मास्क उपलब्ध गराउने लगायत काम गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
‘पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले आफ्नो सवारी साधनमा यात्रा गर्नुअघि तापक्रम नापेरमात्र यात्रा गर्ने व्यवस्था मिलाएको छ,’ सिटौलाले भने, ‘अन्य व्यवासयीहरुले पनि आफ्नोतर्फबाट सकेको प्रयास गरिरहेका छन्।’
सार्वजनिक यातायातको क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) देखिएको अवस्थामा छिटो संक्रमण फैलने क्षेत्र भएकाले हामीले आवश्यक तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताए। ‘कोरोना भाइरस आइनसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नुपनि भएन,’ उनले भने, ‘कोरोना देखिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायसँगको समन्वयनमा तत्काल कदम चालिने गरी छलफल भएको छ।’
पश्चिम नेपाल बस ब्यवसायी प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुरजस्ता भारतीय नाकाबाट विभिन्न गन्तव्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै बुटवल, तानसेन, गुल्मी र अर्घाखाँचीबाट छुट्ने प्रालिअन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने व्यवस्था गरिएको छ।
यातायात व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालयलगायत निकायलाई जानकारी गराएपनि उक्त निकायबाट खासै चासो नदिइएको सिटौलाको भनाइ छ। ‘स्वास्थ्य विभागले सचेतनाका लागि पर्चा उपलब्ध गराउन सहयोग गरेको छ,’ उनले भने, ‘तर यातायात क्षेत्र हेर्ने यातायात व्यवस्था विभागले भने यसबारेमा कुनै छलफल पनि गरेको छैन। न त आवश्यक निर्देशन तथा तयारी नै गरेको छ।’ ज्वरो नाप्ने उपकरण समेत नपाइने अवस्थामा आफूहरुले सरकारी निकायलाई झकझक्याइरहेको सिटौलाले जिकीर गरे।
एक/दुई चरणमा सरोकारवालाहरुसँग छलफल भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘हामीले विभिन्न पक्षसँग छलफल गरेका छौं। तत्काल सार्वजनिक यातायात बन्द गर्दा त्यसको असर अर्कै हुन्छ,’ उनले भने, ‘त्यसैले कोरोना देखिएपछि कुन कुन सवारीसाधनलाई चलाउने कुन नचलाउने भन्ने निर्याय तत्कालीन अवस्थामा नै हुनेछ।’
यता साझा यातायातले भने चैत १ देखि आफ्ना बसमा बिहान रुटमा जानु पूर्व स्यानिटाइजर छरेर पठाउने व्यवस्था मिलाएको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए। ‘चैत १ देखि साझाको पार्किङबाट रुटमा निस्कँदा स्यानिटाइजर छरेर पठाउने गरिएको छ। स्टाफलाई मास्क अनिवार्य गरिएको छ,’ उनले भने, ‘सचेतनाका लागि स्वास्थ्या विभागसँग समन्वय गरेर हामीले सचेतनाका लागि पोस्टर टाँसेका छौं।’
त्यस्तै सुन्दर यातायातले पनि बस चढ्नुपूर्व यात्रुको ज्वरो नापेर मात्र चढाउने व्यवस्था मिलाएको जनाएको छ। सुन्दर यातायातले रिङरोडमा दुईवटा विद्युतीय बस मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।