नयाँ दिल्ली- कोरोना भाइरसको फैलँदो असरलाई ख्याल गर्न भन्दै भारतको दिल्लीमा राज्य सरकारले थप कडाइ गर्ने निर्णय गरेको छ। मानिसहरुको भेलाले एक अर्कालाई थप संक्रमण हुने भन्दै दिल्ली सरकारले ५० भन्दा धेरै मानिसहरु भेला हुने स्थानमा सहभागी नहुन सर्वसाधरणलाई कडाइ गरेको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार सामाजिक, धार्मिक र राजनीतिक भेलामा ५० भन्दा धेरै मानिसहरु भेला हुन प्रतिबन्ध लगाएको जानकारी गराएका छन्।
सरकारले विवाह समारोहलाई पनि अहिले नै प्रतिबन्ध नलगाएको उनले बताए। ‘विवाह समारोहमा रोक लगाइएको छैन तर सकेसम्म यो उत्सवमा पनि कम मानिस भेला हुने वा पछि सार्न सकिन्छ‚’ उनले भने‚ ‘केही समयका लागि स्थगित नै गर्न सके झन् राम्रो हुनेछ।’
संक्रामक बिमारी एक्ट १८९७ का अनुसार यो प्रतिबन्ध तत्काल लागू भएको उनले बताए। यसको असर नागरिकता संशोधन कानूनविरुद्ध भइरहेको विरोध प्रदर्शनमा पनि पर्ने देखिएको छ।
दिल्लीको शाहीन बागमा अहिले पनि प्रदर्शन चलिरहेको छ। सरकारको यो नियम लागू भएपछि उक्त क्षेत्रमा पनि ५० भन्दा धेरै मानिस भेला भई विरोध गर्न पाइने छैन।
यदि ५० भन्दा धेरै मानिस प्रदर्शनस्थलमा भेला भएमा उनीहरुविरुद्ध संक्रामक बिमारी एक्ट १८९७ का अनुसार इलाकाका डिएमले कारबाही गर्ने मुख्यमन्त्री केजरीवालले बताए।
जिम र नाइट क्लब पनि पूर्ण रुपमा बन्द
दिल्ली सरकारले जिम, नाइट क्लब र स्पाहरुलाई पनि बन्द गर्ने निर्णय गरेको छ। केही समयमा लागि मानिसहरुको सम्पर्क र भेटघाट हुने स्थानहरु बन्द गर्ने निर्णय गरेको उनले बताए।
‘हामीले स्कुल, कलेज, सिनेमा घर र स्विमिंग पुल पहिले नै बन्द गरिसकेका छौं,’ उनले भने‚ ‘आज जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका छौ।’ संक्रमणको फैलावट रोक्नका लागि यस्तो गर्नुपरेको केजरीवालले बताए।
भारतमा हालसम्म १ सय १२ जनामा संक्रमण फैलिएको भेटिएको छ। २ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा दिल्लीमा एक जना रहेका छन्। केजरीवाल सरकारले विद्यालय र सिनेमा हलहरु ३१ मार्चसम्मका लागि यसअघि नै बन्द गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।